Skip This
सेयर बजारको राजस्व ८३ प्रतिशत घट्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
भोजराज भण्डारी काठमाडाैं
Invalid date format o८:o६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारको राजस्व ८३ प्रतिशत घट्यो

गत आवको माघसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारले नौ अर्ब ७६ करोड राजस्व संकलन गरेको थियो, तर चालू आवमा एक अर्ब ६२ करोड मात्रै संकलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो । अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारलाई प्राप्त हुने राजस्वमा ८३ दशमलव ४० प्रतिशतले गिरावट आएको छ । 

गत आवको माघ मसान्तसम्म धितोपत्र पुँजीगत लाभकरबापत सरकारले नौ अर्ब ७६ करोड राजस्व संकलन गरेको थियो । तर, चालू आवको सोही अवधिमा एक अर्ब ६२ करोड मात्रै संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको ०७८÷७९ साउनदेखि माघ मसान्तसम्म नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको थियो ।

०७८ साउनमा साताको पहिलो कारोबार हुँदा नेप्से परिसूचक दुई हजार नौ सय ८० दशमलव ६१ बिन्दुमा रहेको थियो । यसबीचमा नेप्से सूचक बढेर २ भदौ ०७८ मा तीन हजार एक सय ९८ दशमलव ६० बिन्दु रहेको थियो । अहिलेसम्मकै उच्च सो मितिमा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब कायम थियो भने गत वर्ष फागुनमा कुल बजार पुँजीकरण ३६ खर्ब ६ अर्ब रुपैयाँमा आइपुगेको थियो ।

अघिल्लो वर्ष उच्चतम बिन्दुमा रहँदाको कुल बजार पुँजीकरण र मंगलबारसम्मको कुल बजार पुँजीकरणलाई तुलना गर्दा लगानीकर्ताले १६ खर्ब ४० अर्ब गुमाएका छन् । मंगलबार २३ फागुनमा कुल बजार पुँजीकरण २८ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । विगतमा चुनावको समयमा बजारमा मिश्रित प्रभाव देखिने गरेको भए पनि यसपटक स्थानीय तह र प्रतिनिधिसभाको चुनावमा सेयरमा उत्साह आउन नसक्दा लगानीकर्ता थप निराश बन्न पुगेका लगानीकर्ता नयन बाँस्तोलाले बताए । रुस र युक्रेनको प्रभाव, आर्थिक मन्दी र मुलुकमा लामो समयदेखि देखिएको तरलता संकटले बजार प्रभावित बन्न पुगेको उनको भनाइ छ ।

त्यसअघिको उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिवेला नेप्से परिसूचक एक हजार आठ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजारले पुरानो उच्च बिन्दुको लक्ष्य भेटाउन सकेको छैन ।

उच्च बिन्दुको आसपासकै बीचमा सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेन्डिङको सम्भावनामा रहेका ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि बजार घट्नलाई सहयोग पुगेको लगानीकर्ता तथा नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । त्यति मात्रै नभएर मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोकर्तामा ४–१२ करोड सीमा लागू गरेपछि बजारमा भारी गिरावट आएको उनको भनाइ छ । यी सबै कारणले राजस्व संकलनमा देखिएको हो ।

उनले भनिन्, ‘सरकार एकतर्फी रूपमा एक्सनमा गयो, ५१ वटा कम्पनीको सूची जारी गर्नु, चार करोड र १२ करोडको सेयर धितोकर्जामा सीमा तोकिनेजस्ता फ्याक्टरले बजार घट्न पुग्यो ।’अर्का लगानीकर्ता छोटेलाल रौनियार राजनीतिक अस्थिरता र नियामक निकायको ढुलमुले नीतिले बजार प्रभावित बन्न पुगेको जिकिर गर्छन् । उनले भने, ‘राजनीतिक अस्थिरता, मौद्रिक नीतिमा भएको परिवर्तनले बजार घट्दा आज यो अवस्था आयो ।’

चालू आर्थिक वर्षको साउनमा आइपुग्दा नेप्से परिसूचक दुई हजार ११ दशमलव ४० बिन्दुमा रहेको थियो । सेयर धितो कर्जामा चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राखिएको छ । यसबीचमा नेप्से सूचक १८ सय १५ को न्यूनतम बिन्दुसम्म पुगेर हाल नेप्से परिसूचक १९ सय ५२ दशमलव ६६ बिन्दुमा आइपुगेको छ । सुरुवातीमा बजार सकारात्मक रूपले अघि बढेर अघिल्लो महिना २२ सयसम्मको बिन्दुबाट पुनः तल झरेको छ । हाल (मंगलबार) नेप्से सूचक एक हजार नौ सय ५२ दशमलव ६६ बिन्दुमा आइपुगेको छ ।