मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २३ मंगलबार ०८:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एटिआर जहाजको आयु कति हुन्छ ?

अर्थ ज्ञान

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २३ मंगलबार ०८:४४:००

हवाई क्षेत्रका विज्ञ भन्छन्– जहाज पुरानो हुँदै जान्छ, तर थोत्रो हुँदैन । जहाज निर्माता कम्पनीको म्यानुअलअनुसार नियमित चेकजाँच, परीक्षण, मर्मत–सम्भार गरेमा जहाज उडानयोग्य रहन्छ । निश्चित तालिकाअनुसार जहाजको पार्टपुर्जा पनि परिवर्तन गरिनुपर्छ ।जहाजको आयु कहिल्यै नसकिने भन्ने होइन । जहाजको आयु पनि सकिन्छ । त्यस्तो जहाज एक दिन पनि उडाउन पाइँदैन । तर, जहाजको उत्पादन मिति हेरेर आयु नापिँदैन । कुनै पनि जहाजको आयु उडान चक्रले निर्धारण गर्छ ।

उत्पादक कम्पनीले जहाजको अधिकतम चक्र तोकेको हुन्छ । कुनै पनि जहाजले एउटा विमानस्थलबाट उडान गरेर अर्को विमानस्थलमा अवतरण गरेपछि एक चक्र पूरा हुन्छ । जहाजको प्रकृति, बनावट, मोडेल र ब्रान्डअनुसार उडान चक्र पनि फरक–फरक हुने गर्छ ।

आज हामी नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी प्रयोग भइरहेको जहाज ‘एटिआर’को आयुबारे चर्चा गर्दै छौँ । एटिआर विमानलाई नेपाली आकाशमा सबैभन्दा सुरक्षितसमेत मानिन्छ । एटिआरको उडान व्यावसायिक रूपमा पनि किफायती रहेको बताइन्छ । नेपाली आकाशमा बुद्ध एयरका १४ र यती एयरलाइन्सका पाँचवटा गरी १९ एटिआर जहाजले उडान गर्ने गर्छन् । सौर्य, सीता, गुणलगायत वायुसेवा कम्पनी पनि एटिआर जहाज भिœयाउने तरखरमा छन् ।

एउटा एटिआर जहाजको अधिकतम चक्र ७० हजार रहेको छ । ७० हजारपटक उडान–अवतरण गरिसकेपछि एटिआरलाई एक चक्र पनि बढी उडाउन पाइँदैन । यदि जहाज राम्रो कन्डिसनमा रहे पनि चक्र पूरा गर्नेबित्तिकै ग्राउन्डेड गरिहाल्नुपर्छ । नियमनकारी निकायले पनि हवाई सुरक्षा हेरेर त्यस्तो जहाज उडाउन दिँदैन । 

७० हजार चक्र पूरा नहुन्जेल एटिआर निर्वाध रूपमा उडाउन पाइन्छ । तर, यसका पनि सर्त छन् । यदि कम्पनीले दिएको म्यानुअलअनुसार नियमित चेकजाँच, मर्मत–सम्भार र पार्टपुर्जा फेरबदल नगरेमा चक्र पूरा नगरे पनि जहाज उडानका लागि सुरक्षित हुँदैन । जहाज नियमित मर्मत–सम्भार र तोकिएको समयमा पार्टपुर्जा फेरबदल गरे मात्र उडानयोग्य रहन्छ । नत्र, ७० हजार चक्र पूरा नगर्दै जहाज उडाउनयोग्य रहँदैन । 

जहाजको कतिवेला कुन पार्टपुर्जा फेर्ने, कति–कति समयमा चेकजाँच र मर्मत–सम्भार गर्ने भनेर सम्बन्धित वायुसेवा निर्माता कम्पनीले म्यानुअल दिएको हुन्छ । एयरक्राफ्ट अपरेटरले नियमित जहाज मर्मत–सम्भार गरेको छ कि छैन भनेर नियामक निकायले पनि सूक्ष्म निरीक्षण गर्छ ।