मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २० शनिबार ०६:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २० शनिबार ०६:१९:००

आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले हरायो 

आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको अविजित साझेदारी गरेपछि शुक्रबार नेपालले युएईमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा पपुवा न्युगिनी (पिएनजी) लाई तीन विकेटले हराएको छ । यो जितसँगै नेपालको विश्वकप छनोट हुने सम्भावना पनि कायम छ । नेपालबाट आठौँ विकेटका लागि एकदिवसीय क्रिकेटमा बनेको यो उच्च साझेदारी हो । यसअघि आठौँ विकेटका लागि अलराउन्डर सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध ५५ रनको योगदान गरेका थिए ।

जितपछि नेपाल ३१ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा यथावत् छ । एक अंक बढी भएको युएई पाँचाँै स्थानमा छ । यसअघि बिहीबार नेपाल आयोजक युएईसँग ६८ रनले पराजित भएको थियो । ३१ खेलबाट सात अंक जोडेको पिएनजी सातौँ स्थानमा छ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा पनि नेपालले पिएनजीलाई चार विकेटले हराएको थियो । तालिकामा शीर्षमा रहेको स्कटल्यान्ड र दोस्रो स्थानमा रहेको ओमान विश्वकपका लागि छनोट भइसकेका छन् । 

आसिफलाई सन्दीपको साथ
पिएनजीले प्रस्तुत गरेको एक सय ८० रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । नेपालले एक सय पाँच रन बनाउँदासम्म सात विकेट गुमाइसकेको थियो । त्यसपछि आसिफ र सन्दीपले अविजित ७७ रनको साझेदारी गरेर नेपाललाई विजयी बनाए । नेपालका लागि आसिफले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित ८६ रन बनाए । आसिफ नै ‘प्लेयर अफ दी म्याच’ घोषित भए । त्यसैगरी, सन्दीप लामिछानेले ५० बलमा तीन चौकासहित अविजित ३५ रनको योगदान गरे । यसअघि कुशल मल्लले २३ रहन जोडेका थिए ।

कुशल रोयल डकआउट
नेपालका ओपनर कुशल भुर्तेल रोयल डकआउट भए । त्यसैगरी, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ६, भीम सार्कीले आठ, कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले समान एक, दीपेन्द्रसिंह ऐरी आठ रनमा आउट भए । पिएनजीका कप्तान असाद भालाले सर्वाधिक तीन विकेट लिएका थिए । यसैगरी, सिमो कामिया र सेसे बाउले समान दुई विकेट लिए ।

नेपालको धारिलो बलिङ
नेपालका बलर र फिल्डरले पिएनजीलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको पिएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल तयार पारेको थियो । पिएनजीका टोनी उराले सर्वाधिक ३९ रन बनाए । उनलाई सोमपाल कामीले आफ्नै बलमा क्याचआउट गरे । त्यसैगरी, अर्का ओपनर पिप्लिन डोरिगोले २६ रनको योगदान गरे । 

डोरिगोलाई सन्दीपले एलबिडब्लू धरापमा पारेका थिए । दुवैले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । हिरी हिरीले ३१, गौडी टोकाले १५, नोर्मन भानुआले १४ तथा सेसे बाउ र असाद भालाले समान ११ रन जोडे । युएईका तीन खेलाडी रनआउट भए । 

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सोमपाल र दीपेन्द्र दुवैले पूरा १० ओभर बलिङ गरेका थिए । त्यसैगरी, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।