१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १८ बिहीबार ०९:२७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुक्खा पहिरोले सडक असुरक्षित

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १८ बिहीबार ०९:२७:००

गत वर्ष भदौमा गएको सुक्खा पहिरोले भासिएको लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीस्थित सडक दुई वर्ष बित्न लाग्दा पनि बनेको छैन, सुरक्षित वैकल्पिक मार्ग नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्

लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुरको देउराली डाँडामा सुक्खा पहिरोले सडक नै असुरक्षित बनेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको हो । गत वर्ष भदौमा गएको पहिरोका कारण सडक भासिएपछि दुई वर्ष बित्न लाग्दा पनि सुरक्षित वैकल्पिक मार्ग बन्न सकेको छैन । 

बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कात्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो । पहिरो खसेपछि दिनहुँजसो सडक अवरुद्ध हुने गरेको छ । माथिबाट पहिरो खसिरहने भएपछि यात्रामा निकै जोखिम हुने गरेको छ । बेँसीसहर नगरपालिका– १ उदीपुरको देउराली डाँडाको सडक गत वर्ष भदौमा पहिरोले बगाएको थियो । पहिरोले सडक बगाएपछि चिप्लेटीस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदीपुर उक्लिने बाटो सञ्चालनमा ल्याइएको थियो । 

सवारी आवागमन बन्द भएपछि बेँसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमर्स्याङ्दी जलविद्युत्को फलामे पोल तथा डुम्रे–बेँसीसहर–चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामग्री सहयोगबाट चुनावका वेला नेपाली सेनाको चण्डीप्रसाद गणले पहिरोको माथितिरबाट सडक खुलाएको थियो । त्यसपछि पुनः एक साता बन्द गरेर सडक फराकिलो बनाएकोमा केही सहज भए पनि अहिले उक्त सडकमा नियमितजस्तै पहिरो खस्ने समस्या देखिएपछि कति वेला दुर्घटना हुन्छ भन्ने यकिन नभएको स्थानीय सुरज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सडकको माथिबाट सुक्खा पहिरो खस्दा एकातिर असुरक्षा बढेको छ भने कतिपय यात्रु गन्तव्यमा पुग्न नसकी अलपत्रसमेत हुने गरेका छन् ।’ 

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बर्खाअगावै बेँसीसहर बजारबाट मर्स्याङ्दी पुल हुँदै बाझाखेतबाट पारिको बाटो खुलाउने विषयमा कुरा अघि बढेको बताए । हाल सञ्चालनमा रहेको बाटोभन्दा केही लामो भए पनि अर्काे विकल्प नभएकाले उक्त बाटोको स्तरोन्नति गरी मर्स्याङ्दीपारिबाट यातायात सञ्चालन गरिने अर्यालको भनाइ छ । सडक डिभिजन कार्यालयले भने सडक निर्माणको प्रक्रिया अघि बढेको बताएको छ । पहिरो गएको बाटो निर्माणका लागि टेन्डर आह्वान गरिएको र त्यसपछि निर्माण प्रक्रियामा अघि बढ्नेछ । भ्याटसहित २० करोड रुपैयाँबराबरको टेन्डर भएको र यसबाट यसअघिको सडक नै जोडिने गरी एक सय ६० मिटर लामो सडक निर्माण हुनेछ ।

सडक भासिएको स्थानमा पहिरो खोलेर आवतजावत गराइएको भए पनि सुक्खा पहिरो खसिरहेकाले हाल २४सै घन्टा जेसिभी राखेर पहिरो सफा भइरहेको छ । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी सडक मर्मत कार्यमा ढिलाइ भएकाले वर्षा याममा सदरमुकाम पुग्ने मार्ग बन्द हुन सक्ने चिन्ता व्यक्त गर्दछन् । दुई वर्ष हुँदा पनि मर्मतका लागि टेन्डर आह्वान हुन ढिलाइ हुनु, टेन्डरमा एउटा मात्र फर्मले निवेदन दिनुले अझै कहिले सडक बन्ने हो भन्ने अन्योल भएको अधिकारीको भनाइ छ । संघीय र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको समयमा सबैजसो राजनीतिक दलका उम्मेदवारले पहिरोलाई चुनावी एजेन्डा बनाए । तर, अहिले यसबारे कसैले प्रमुखताका साथ चासो नलिएको अध्यक्ष अधिकारीको भनाइ छ ।