
कतार विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् । मंगलबार बिहान पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर मेसीले आफ्नै क्लबका केलियन एम्बाप्पे र बालोन डि ओर विजेता रियल म्याड्रिडका करिम बेन्जेमालाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप २०२२ को उपाधि जितेको थियो । सात गोल गरेका मेसी गोल्डेन बल अवार्ड प्राप्त गर्न सफल भएका थिए । पछिल्लोपटक मेसीले वर्ष उत्कृष्ट अवार्ड सन् २०१९ मा जितेका थिए । पेरिसमा महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले अवार्ड हात पारिन् ।
यस अवार्डका लागि फिफामा आबद्ध फुटबल संघका प्रशिक्षक, कप्तान र पत्रकारले भोट गर्दछन् । ‘यो वर्ष मेरा लागि निकै राम्रो लाग्यो । मैले सपना पूरा गरेको छु । यसले मेरो खेलजीवनमा धेरै सकारात्मक भाव ल्याएको छ । हरेक खेलाडीको सपना उपलब्धि प्राप्त गर्ने हुनेछ,’ सातपटक बालोन डि ओर अवार्ड जितेका मेसीले समारोहमा भनेका छन् ।
अर्जेन्टिनाकै प्रशिक्षक लियोनल स्कोलानी वर्षका उत्कृष्ट प्रशिक्षक भए भने अर्जेन्टिनाकै इमिलियानो मार्टिनेज वर्षका उत्कृष्ट गोलकिपर घोषित भए । महिलातर्फको वर्ष प्रशिक्षकमा नेदरल्यान्ड्सकी सरिना विगम्यान र गोलकिपरमा म्यारी घोषित भइन् ।
नेपालबाट मेसीलाई सर्वाधिक भोट
द बेस्ट अवार्डमा नेपालका प्रशिक्षक (पुरुष÷महिला), कप्तान (महिला÷पुरुष) र पत्रकारले भोट गरेका थिए । नेपाल राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक प्रवेश कटवालले पुरुषतर्फ र महिलातर्फ राजेन्द्र तामाङले भोट गरे । पुरुष कप्तान किरणकुमार लिम्बू, महिला टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र पत्रकारमा विक्रम थापाले नेपालको प्रतिनिधित्व गरेका हुन् ।
प्रवेशले पहिलो नम्बरमा मेसी, दोस्रोमा एम्बाप्पे र तेस्रोमा ब्राजिलका युवा स्टार भिनिसियस जुनियर चुनेका थिए । कप्तान किरणले एम्बाप्पे, मेसी र क्रोएसियाका कप्तान लुका मोड्रिचलाई भोट गरे ।
पत्रकार विक्रमले मेसीलाई सर्वाधिक मत दिँदा एम्बाप्पे दोस्रो र मोड्रिचलाई तेस्रो स्थानमा राखे । महिलातर्फको भोटमा कप्तान एन्जिलाले मोर्गनलाई सबैभन्दा बढी तथा एलेक्जान्ड्र पोप र साम करणलाई चुनेकी छिन् । महिला खेलाडीमा तामाङले डेविन्हा, वेन्डाइ रेनार्ड र मोर्गनलाई भोट गरे ।