
लियोनल मेसीले फिफा वर्ष खेलाडीको उपाधि दोस्रोपटक उचालेका छन् । उनले गत कतार विश्वकपमा प्रेरणादायी खेल खेल्दै ३६ वर्षपछि अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि दिलाएका थिए ।
अवार्ड हात पारेपछि मेसीले भने, ‘मेरा लागि यो एक महान् वर्ष हो । यहाँ आएर यो अवार्ड जित्नु मेरा लागि गर्वको कुरा हो ।’
उनले फिफा वर्ष खेलाडीको अवार्ड सम्पूर्ण साथीहरूप्रति समर्पित गर्न चाहेको बताए । ‘म यो अवार्ड मेरा सबै साथीहरूप्रति समर्पित गर्न चाहन्छु । किनभने उनीहरूविना मैले यो उपलब्धि हासिल गर्न सक्ने थिइनँ ।’
उनले भने, ‘मैले लामो समयदेखि देखेको सपना पूरा गरेको छु । धेरै कम मानिसले मात्र देखेको सपना पूरा गर्न सक्छन् र म त्यो अर्थमा भाग्यमानी छु ।’
सन् २०१६ बाट सुरु भएको अवार्डमा मेसीसहित क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्कीले दुई–दुईपटक उपाधि जितेका छन् । यस्तै, लुका मोड्रिचले एकपटक उपाधि जितेका छन् ।