Skip This
अस्पतालजन्य फोहोर बन्चरेडाँडा लैजानेलाई ५० हजार जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार २१:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्पतालजन्य फोहोर बन्चरेडाँडा लैजानेलाई ५० हजार जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार २१:३८:oo

काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जनस्थल बन्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहोर पुर्‍याउनेलाई रु ५० हजार जरिवाना गरेको छ।

कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिन्ज अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्‍याएको भन्दै रु ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। 

उनले भने, 'कानुनले बर्जित गरेकाे फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौँ। उक्त स्थानमा सबै किसिमका अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि बन्देज गरिएको छ।' उक्त फोहोरहरू अन्य सामान्य फोहोरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको विभागको भनाइ छ।   

विगत सात महिनादेखि कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर बन्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको जहाँ सामान्य फोहोर मात्र व्यवस्थापन गर्न मिल्छ।

अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नुपर्छ। त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सक्ने व्यवस्था रहेको छ। अस्पतालबाट निस्कने फोहोर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहोरलाई पनि स्रोतमा नै वर्गीकरण गरेर लाने तयारी गरिरहेको छ।

गत साउन १ गतेदेखि नै कामपाले उक्त व्यवस्था सुरु गरेको भए पनि प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेको छैन। स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि अहिले केही वडामा मात्रै फोहोर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ। 

महानगरको कुल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुन सकेको छैन। 

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ। ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। 

गत सातादेखि कामपाले कुहिने फोहोरबाट टेकुस्थित ट्रान्फरस्टेसनमा कम्पोस्ट मल बनाउने काम सुरु गरेको छ। कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन। 

पछिल्लो समय उत्पादन हुने फोहोरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहोरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ। 

फोहोरको वर्गीकरणबिनै सबै फोहोर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थान अभावको कारण समय-समयमा समस्या आउने गरेको छ। कामपाले यसरी मल बनाउने कामलाई ३२ वटै  वडामा पनि थाल्ने जनाइएको छ।