
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुडगाउँमा रहेको मेदान्त द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई छुट दिनेसम्बन्धी समझदारी नवीकरण भएको छ । बैंकका कार्डवाहकले अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
समझदारी भारतको हरियाणामा रहेको अस्पतालमै भएको र त्यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेको जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहक वर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बैंकको भनाइ छ ।
आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने आफ्ना ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ । यस प्रकारको सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले तीन वर्षअघिदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आएको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ८२ शाखा, एक सय ३४ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।