१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार २०:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविको मूल्यांकनमा कोटेश्वर क्याम्पस उत्कृष्ट : उपकुलपति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार २०:१४:००

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोटेश्वर बहुमुखी क्याम्पस देशभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट भएको बताएका छन्। 

कोटेश्वर बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपकुलपति डा. बाँस्कोटाले क्याम्पसको वार्षिक प्रतिवेदन सुन्न पाउँदा र स्टेजमा विद्यार्थीको प्रतिभा देख्दा देशकै उत्कृष्ट क्याम्पस भएको प्रमाणित भएको बताए। 

उनले भने, ‘पहिले यो क्याम्पसबारे सुनेको मात्र थिएँ। आज आफ्नैअगाडि प्रगति विवरण र विद्यार्थीको प्रतिभा देखेपछि देशकै उत्कृष्ट सामुदायिक कलेज भएको प्रमाणित भएको छ।’ 

क्याम्पसले पढाइका अलावा देशको कला, संस्कृति र सभ्यताको संरक्षणमा पनि विशेष पहल गरिरहेको भन्दै उनले खुसी व्यक्त गरे। यो अभियानलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। 

त्रिविले सामुदायिक क्याम्पसहरूलाई प्राथमकितामा राखेको बताउँदै उपकुलपति डा. बाँस्कोटाले कोभिड– १९ का कारण त्रिविलाई समयमा परीक्षा सञ्चालन गर्ने र नतिजा प्रकाशनमा केही समस्या परेको भए पनि विस्तारै लयमा लैजान लागिएको जानकारी दिए। 

क्याम्पसले क्युएए (गुणस्तर सुनिश्चितता प्रत्यायन) प्राप्त गरेपछि र भौतिक संरचना निर्माण भएपछि त्रिविले नयाँ विषय पठनपाठन गर्न स्वीकृति दिन कन्जुस्याइँ नगर्ने डा. बाँस्कोटाले बताए। 

कार्यक्रममा पूर्वराजदूत एवं क्याम्पसका पूर्वसञ्चालक समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले विपन्न जनताका छोराछोरीले कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सकून भनेर आफूहरूले ३२ वर्षअगाडि दुःख गरेर क्याम्पस स्थापना गरेको स्मरण गर्दै क्याम्पसले अहिलेको युग सुहाउँदो विषयको पठनपाठनमा जोड दिनुपर्ने बताए। 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले क्याम्पसको शैक्षिकस्तर अन्य क्याम्पसको तुलनामा धेरैमाथि रहेको दाबी गर्दै यसलाई भविष्यमा पनि कायम राख्नुपर्नेमा जोड दिए।

प्राध्यापक संघ कोटेश्वर क्याम्पसका सभापति सुरेश पोखरेलले संघले सम्पूर्ण प्राध्यापक र कर्मचारीको हकहितका लागि मात्र नभएर विद्यार्थीको शैक्षिकस्तर बढाउन सहकार्य गरेर अगाडि बढिरहेको बताए। 

क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले शैक्षिक, आर्थिक र प्रशासनीय प्रतिवेदन प्रस्तुत गर्दै सरोकारवालाको सहभागिताका कारण क्याम्पसले आफ्ना घोषित लक्ष्य र उद्देश्य कार्यन्वयन गरिरहेको जानकारी दिँदै आर्थिक अवस्था सकारात्मक रहेको बताए। 

कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने एकदर्जन बढी विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र, मेडलसहित छात्रवृत्ति र पुरस्कार वितरण गरिएको थियो। 

त्यसैगरी, क्याम्पसमा २० वर्ष अध्यापन गरेका क्याम्पस प्रमुख कार्कीसहित सातजनालाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको थियो। सो अवसरमा पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय समितिमा निर्वाचित भएका क्याम्पसका उपप्राध्यापक शैलेशचन्द्र बराललाई सम्मान गरिएको थियो। 

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य, गायन, प्रहसनसहित आआफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।