१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १४ आइतबार १२:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनकुटा–मूलघाटदेखि  पाँचथरसम्म कालोपत्रे निर्माण सुरु

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १४ आइतबार १२:०१:००

तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडकखण्डमा कालोपत्रे सुरु भएको छ । साँघुरीगढी गाउँपालिका–१, मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडक कालोपत्रे गर्ने कार्य सुरु भएको हो ।तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर रहेको छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेशचोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ ।

रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ भने दोस्रो खण्डको काम एपेक्स कन्स्ट्रक्सन निर्माण सेवा काठमाडौंले पाएको छ । उक्त सडक कालोपत्रेको कुल लागत पाँच अर्ब ७६ करोड रहेको तमोर करिडोर धरानका योजना प्रमुख कुबेर नेपालीले बताए । तमोर करिडोरअन्तर्गत प्रदेश नम्बर १ को राजधानी विराटनगरको रानीबाट ताप्लेजुङको ओलाङचुङगोलासम्म दुई सय ८० किलोमिटर रहेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला छिमेकी राष्ट्र चीनसँगको सीमावर्ती क्षेत्र हो । तमोर करिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दूरीको सडक मार्ग बन्नेछ । उक्त सडक कालोपत्रेका लागि सरकारले गत भदौमा टेन्डर आह्वान गरेको थियो । सोही आधारमा निर्माण कम्पनीसँग सम्झौता भएर कालोपत्रेको काम थालनी भएको हो । 

अहिले दुवै खण्डको निर्माण कम्पनीले कालोपत्रेका लागि ग्राभेल, सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ढुंगा, गिटी, बालुवा संकलन गर्नेलगायतका काम सुरु गरेका छन् । सो सडक दुई वर्षभित्रमा कालोपत्रे गरी सक्ने सम्झौता भएको छ । तमोर करिडोरको सो सडक निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका तमोर नदी तटीय क्षेत्रका नागरिकलाई तराई झर्न सहज हुनेछ । 

ताप्लेजुङबाट मेची राजमार्गको पाँचथर, इलाम, झापा हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगर पुग्न अहिले करिब १२ घन्टासम्म लाग्ने गर्छ । तर, तमोर करिडोर निर्माण भएपछि ताप्लेजुङबाट पाँचथर, धनकुटा हुँदै करिब आठ घन्टामा विराटनगर पुग्न सकिन्छ । तमोर करिडोर ०६६ सालमा धनकुटाको मूलघाटदेखि सुरु गरिएको थियो ।