मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १४ आइतबार ०७:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटाविरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा

आर्मीका चेतन केसीले खेलको अतिरिक्त समयको ११औँ मिनेटमा गोल गरेपछि संकटा १–० ले पराजित

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १४ आइतबार ०७:४२:००

संकटा क्लबविरुद्ध कठिन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर–झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चेतन केसी नायक बन्दा संकटालाई १–० ले पराजित गर्दै आर्मीको ‘बी’ टोली उपाधिनजिक पुगेको हो । आर्मीको ‘ए’ टोलीले केपी ओली कप खेलिरहेको छ । अब आर्मीले उपाधिका लागि मंगलबार मच्छिन्द्र र अर्काे विभागीय टोली एपिएफ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र र एपिएफबीच आज खेल हुनेछ । 

शनिबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त १४ मिनेटको थप समय खेलाइएको थियो । अतिरिक्त समयको ११औँ मिनेटमा गोल गर्दै चेतनले आर्मीको जित निश्चित गरे । चेतन आर्मीको दोस्रो रोजाइका खेलाडी हुन् । उनले पहिलो रोजाइका जितेन्द्र कार्कीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

दायाँ बक्सनजिकै संकटाका सौरभ दासले प्रज्वल गुरुङलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको थियो । आर्मीका सन्तोष केसीले प्रहार गरेको फ्रिकिक बललाई बक्सभित्रबाट चेतनले दोस्रो बारमा हेड गोल गरे । जितसँगै आर्मीले कम्तीमा ७ लाख रुपैयाँ सुरक्षित गरेको छ । खेलको प्लेयर अफ दी म्याच आर्मीका सुरज बस्नेत घोषित हुँदै नगद २० हजार प्राप्त गरे । 

मच्छिन्द्र र एपिएफले यो सिजनमा एक–एक उपाधि जितेका छन् । मच्छिन्द्रले भर्खरै सर्लाहीमा सम्पन्न राजर्षि जनक कपको उपाधि हात पारेको छ भने एपिएफले नवलपरासी पश्चिममा भएको सूर्यनगर गोल्डकपको उपाधि जितेको थियो । यो सिजनमा आर्मी भने उपाधिविहीन छ । उसले भद्रपुर–झापा गोल्डकपको उपाधिका लागि संघर्ष गरिरहेको छ । यद्यपि, नाम चलेका खेलाडीविनै मैदानमा उत्रिएको आर्मीले विगतमा जस्तो प्रदर्शन गर्न सकेको छैन । ए डिभिजन लिगको पूर्वसन्ध्यामा भएको यो प्रतियोगितालाई निकै महŒवको रूपमा लिइएको छ । प्रतियोगितामा सहभागी ए डिभिजन क्लबहरूले यसलाई तयारीका रूपमा लिइरहेका छन् ।