Skip This
सन्दीपको मुद्दामा आइतबार सुनुवाइ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १३ शनिबार o७:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपको मुद्दामा आइतबार सुनुवाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार o७:३६:oo

 क्रिकेटर सन्दीप लामिछानेले विदेशमा खेल्न जान दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम सुनुवाइ आइतबार हुने भएको छ । सर्वाेच्चले उनीसँग सम्बन्धित अर्काे मुद्दाको सुनुवाइ पनि आइतबार सँगै गर्ने आदेश दिएको हो । लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि सर्वोच्चमा रहेकाले यी दुवै रिटलाई आइतबार सँगै राखेर हेर्न आदेश दिएको हो । नाबालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेलाई विदेश जान रोक लगाइएको छ । 

साथै, उपत्यकाबाहिर जानसमेत प्रहरीको सहमति चाहिने सर्त तोकेको छ । त्यसविरुद्ध सन्दीपले ११ फागुनमा सर्वाेच्चमा रिट निवेदन दर्ता गरेका थिए । संयुक्त अरब इमिरेट्समा भइरहेको आइसिसी पुरुष विश्वकप डिभिजन लिग–२ प्रतियोगितामा नेपाली टोलीसँगै सहभागी हुन पाऊँ भन्दै रिट निवेदन दिएका थिए । जसमा अर्काे मुद्दासँगै संयुक्त इजलासमा सुनुवाइ गर्ने आदेश भएको हो । सर्वाेच्चका न्यायाधीश ईश्वरकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । 

आदेशमा भनिएको छ, ‘यसरी उच्च अदालतको आदेशउपर यस अदालतको संयुक्त इजलासमा संयुक्त सुनुवाइ विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदनउपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन मागअनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन । उही एउटै मुद्दामा वादी–प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदनउपर एकैपटक सुनुवाइ हुनु आवश्यक देखिन्छ ।’ 

गत २८ पुसमा सन्दीपलाई उच्चले सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उनलाई थुनामै राख्नुपर्ने मागसहित सर्वाेच्चमा निवेदन दिएको छ । जसमा सुनुवाइ हुन सकेको छैन । अब उनी थुनामै बसेर मुद्दा लड्नुपर्ने वा बाहिर बसेर लड्न पाउने तथा विदेशमा खेल्न जान पाउने–नपाउने विषयमा एकैपटक फैसला आउने भएको छ । रिटलाई अदालतले अग्राधिकार दिएकाले छिट्टै फैसला आउनेछ । उनीविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन नै छ ।

अन्तिम फैसलाको प्रतीक्षामा क्यान
नेपाल क्रिकेट संघ (क्यान)ले सर्वोच्च अदालतको अन्तिम फैसलाको प्रतीक्षामा रहेको जनाएको छ । अदालतले सन्दीपलाई विदेश भ्रमण जान अनुमति दिँदा सोहीअनुसार प्रक्रिया अगाडि बढाउने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताएका छन् । ‘हामी अदालतले हुन्छ नभनेसम्म केही गर्न सक्दैनौँ, अदालतले सन्दीपलाई विदेश जान अनुमति दिए, प्रक्रिया अगाडि बढाउनुपर्छ,’ पाठकले भने ।

 सन्दीप ४५औँ स्थानबाट ३१ मा उक्लिए
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले फेब्रुअरी महिनाको बलिङ वरीयता सार्वजनिक गर्दा नेपालका पूर्वकप्तान सन्दीप ३१औँ स्थानमा उक्लेका छन् । आइसिसीले बिहीबार सार्वजनिक गरेको एकदिवसीय बलिङ वरीयतामा सन्दीप ४५औँ स्थानबाट ३१औँ स्थानमा उक्लेका हुन् । उनले १४ स्थान सुधार गरेका हुन् । 

६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका सन्दीपले यसै साता काठमाडौंमा भएको विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्रिकोणात्मक एकदिवसीय सिरिजमा सन्दीपले उत्कृष्ट पुनरागमन गरेका थिए । नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिजमाथि क्लिन स्विप गर्दा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए । उनले स्कटल्यान्डसँगको अन्तिम खेलमा सर्वाधिक चार विकेट हात पारेका थिए । सन्दीपले सिरिजको चार खेलमा ४० ओभर बलिङ गरेर एक सय ८४ रन खर्चेका थिए ।

सन्दीपले २०१९ देखि चलिरहेकोे विश्वकप लिग–२ मा ५० विकेट पूरा गरिसकेका छन् । यसै उत्कृष्ट प्रदर्शनकै आधारमा सन्दीपले वरीयतामा व्यापक सुधार गरेका हुन् । त्रिकोणात्मक शृंखला सुरु हुनुअघि सन्दीप एकदिवसीय वरीयताको ४५औँ स्थानमा थिए । त्यसवेला उनको रेटिङ चार सय ९८ अंक थियो । २० फेब्रुअरीको पछिल्लो अपडेटअनुसार सन्दीपले पाँच सय ३६ रेटिङ अंक प्राप्त गरेका छन् । 

एकदिवसीय वरीयतामा छलाङ मार्ने क्रममा सन्दीपले भारतका मोहम्मद सामी, पाकिस्तानका सदाव खान, न्युजिल्यान्डका टिम साउथी, इंग्ल्यान्डका डेबिड विली र अस्ट्रेलियाका एस्टोन अगरलाई समेत पछि पारेका छन् । एकदिवसीय बलिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ९४औँ र सोमपाल कामी ९२औँ स्थानमा छन् । 

टी–२० मा नेपाली खेलाडीमध्ये अगाडि
आइसिसीले जारी गरेको अन्तर्राष्ट्रिय टी–२० वरीयतामा पनि सन्दीप नेपाली खेलाडीमध्ये अगाडि नै छन् । लगभग ६ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहेका सन्दीपले टी–२० वलिङ वरीयतामा ७०औँ स्थानमा छन् । नेपालका अविनाश बोहरा सय स्थानमा छन् । यता, ब्याटिङतर्फको वरीयतामा नेपालका कप्तान रोहित पौडेलले १५ स्थान सुधार गरेका छन् ।