
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाएको भन्दै उद्योग वाणिज्य संघ बाजुराको नेतृत्वमा व्यवसायीले बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ बाजुराको नेतृत्वमा भएको प्रदर्शनमा ब्याजदर नघटाए आन्दोलन चर्काउने चेतावनी दिइएको छ । चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीले थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको बाजुराका एक व्यवसायी सुरेन्द्र नाथले बताए । आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुली गरेको भन्दै व्यवसायी अन्दोलित हुनुपरेको नाथले बताए ।
‘बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल्न थालेपछि हामी आन्दोलन गर्न बाध्य भएका हौँ,’ उनले भने, ‘सरकारले माग पूरा नगरे सशक्त आन्दोलन गर्ने तयारी गरेका छौँ ।’ बुधबार शान्तिपूर्ण विरोध गरे पनि यसको सुनवाइ नभएसम्म आन्दोलन चलिरहने उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताए । चर्को ब्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी धरापमा परेकाले यो आन्दोलन निरन्तर रहने अध्यक्ष रोकायाले बताए ।