१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण १२ शुक्रबार ०६:४९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीन दलले माधवका नाममा सहमति खोज्ने

नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने माओवादी, एकीकृत समाजवादी र जसपाको समझदारी

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १२ शुक्रबार ०६:४९:००

माओवादी, एकीकृत समाजवादी र जसपाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् । बिहीबार साँझ भएको तीन दलका शीर्ष नेताको बैठकमा नेता नेपालले राष्ट्रिय सहमति बन्ने अवस्थामा आफू तयार रहेको बताएका थिए । उनको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने तीन दलको समझदारी छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार शुक्रबार बिहान कांग्रेससँग र दिउँसो एमालेसँग छलफल गर्ने तयारी छ । ‘राष्ट्रिय सहमतिका लागि हामीले माधव कमरेडको नाम अघि सार्‍यौँ । हाम्रो प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहमत हुनुभयो । तीन दलको निर्णयले मात्रै हुने कुरा भएन । त्यसकारण कांग्रेससहित अन्य दलहरूसँग पनि छलफल गर्ने भन्ने भएको छ,’ तीनदलीय छलफलमा सहभागी हमालले भने । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको तीन दलको बैठकअघि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जसपा नेताहरूसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए । तीन दलको बैठकलगत्तै बस्ने भनिएको कांग्रेससहित चार दलको बैठक भने स्थगित भएको छ । शुक्रबार बिहानका लागि बैठक सारिएको छ । 

माओवादी उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिका लागि नेता नेपालको नाम कांग्रेससहितको बैठकमा एजेन्डाको रूपमा प्रस्तुत गर्ने कुरा भएको बताए । ‘माधव नेपालका विषयमा कांग्रेससँग एकपटक कुरा गरौँ भन्ने भएको छ,’ उनले भने, ‘उहाँको नाम पनि एजेन्डाको रूपमा प्रस्तुत हुन्छ ।’ शुक्रबारको छलफलबाट निष्कर्षमा पुग्ने उनको भनाइ छ । ‘राष्ट्रपति, उपराष्ट्रपति उम्मेवारमा के गर्ने भन्ने विषयमा व्यापक छलफल भयो । भोलि पनि छलफल गरेर निष्कर्षमा पुग्छौँ,’ शर्माले भने । 

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले शुक्रबार कांग्रेससँगको छलफलपछि अबको राजनीतिक कोर्स कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्ने बताए । ‘कांग्रेससँग बसेपछि मात्रै सबै कुरा टुंगिन्छ । नयाँ गठबन्धनबारे पनि टुंगो लाग्छ,’ उनले भने ।

बेस्ट अप्सनमा जान्छौँ  : नेपाल
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले राष्ट्रपतिका सम्बन्धमा विभिन्न विकल्पमध्ये उत्तम के हुन्छ भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । ‘हाम्रासामु अनेक विकल्प छन् । ती विकल्पमध्ये बेस्ट के हुन्छ, जसले देशको राजनीतिलाई ठीक दिशामा लान सक्छ ।

देशको संविधानलाई जोगाउन, राष्ट्रियतालाई बचाउन भूमिका खेल्छ । ती विकल्पमा जानुपर्छ । त्यसकारण राष्ट्रपति कसले पाउने, कुन व्यक्तिले कुन पद पाउनेभन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने भन्ने महत्वपूर्ण कुरा हो । हामी त्यसमै छलफल गरिरहेका छौँ,’ प्रधानमन्त्रीसँगको छलफलपछि उनले भने ।