
काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा साझेदारी गरिरहेको चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कार्पोरेसनले भीमफेदी र बकैया गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । शिविरमा दुई सयभन्दा बढीले फाइदा लिएका छन् ।
द्रुतमार्ग निर्माण कार्यअन्तर्गत सुरुङमार्गसहित केही पुल निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्स्ट्रक्सनले चिनियाँ चिकित्सा सहायता अभियानको ६०औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौरगाउँलगायतका स्थानीयले स्वास्थ परीक्षण गराएका थिए ।
शिविरमा आएका अधिकांश स्थानीयमा उच्च रक्तचाप, डायबिटिज, मिर्गौलामा खराबी तथा महिलामा छाती र स्तनको समस्या देखिएको शिविरका टिम लिडर डा. च्याले जानकारी दिए ।
स्थानीयको स्वास्थ्य परीक्षणसँगै उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कार्पोरेसनका मेटेरियल हेड लिउले आफ्नो सामाजिक उत्तरदायित्वस्वरूप शिविर चलाइएको बताए ।
शिविरमा चीनको परम्परागत औषधि उपचार विधि एक्युपन्चरबाट पनि उपचार गरिएको थियो । शिविरमा इसिजी, अल्ट्रासाउन्ड, गाइनोलोजी, इएनटीलगायत स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविर रहेको स्थान विकट स्थान भएकाले दुर्घटना भइहालेमा वा कसैलाई उद्धार गर्नुपरेमा कसरी उद्धार गर्ने भन्नेसमेत सिकाइएको थियो ।