मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भोटखोला–१ किमाथाँकामा वडाध्यक्ष नुर्पु च्याबा र दाता स्थानीयलाई खाद्यान्न वितरण गर्दै । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७९ फाल्गुण ९ मंगलबार १६:०७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भोकमरी फैलिन नदिन किमाथांकावासीलाई खाद्यान्न वितरण

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ फाल्गुण ९ मंगलबार १६:०७:००

पूर्वी पहाडी जिल्ला संखुवासभाको चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका– १ स्थित किमाथांकावासीलाई भोकमरी फैलिन नदिन खाद्यान्न वितरण गरिएको छ। 

भोटखोला– १ का वडाध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरूबाट सहयोग जुटाएर वडावासीलाई खाद्यान्न चामाल, नुन, तेललगायतका दैनिक उपभोग्य सामान वितरण गरेको बताए। 

उनका अनुसार भोटखोला गाउँपालिको तर्फबाट दुई लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट तीन लाख ५५ हजार र भोटखोला– १ वडा कार्यालयको तर्फबाट दुई लाख गरी कुल सात लाख ६५ हजार रुपैयाँबराबरको खाद्यान्न वितरण गरिएको बताए। 

सडक सञ्जालसँग नजोडिएको दुर्गम किमाथांका गाउँमा भोकमरी फैलिँदै जान थालेकाले नागरिकलाई राहतबापत खाद्यान्न वितरण गरेको वडाध्यक्ष च्याबाको भनाइ छ।

उनले यो क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले खाद्यान्न किन्न चिनियाँ बजार नै जानुपर्ने, त्यसमा चिनियाँ नाका बन्द भएकाले समस्या भएको बताए।  

सदरमुकाम खाँदबारीबाट एक सय ६२ किलाेमिटर उत्तरमा किमाथांका गाउँ पर्छ। किमाथांका गाउँको पारिपट्टि चीनको देदांग, रियु र चाँगा बजार छ। बीचमा मितेरी पुलले मात्रै नेपाल र चीनको सिमाना छुट्याएको छ। किमाथांका नाका चीन सरकारले कोभिड– १९ को कारण देखाउँदै ०७६ माघ ५ गते बन्द गरेको थियो। 

सिडिओको अध्यक्षतामा पटक–पटक जिल्ला प्रशासन कार्यालय खाँदबारीमा राजनीतिक दलसहितका सर्वदलीय बैठकले किमाथांका नाका खुलाउन पहल गर्ने निर्णय गर्दै आएको छ। सोही निर्णय बोकेर परराष्ट्र मन्त्रालयसम्म पुगेर भोटखोला गाउँपालिकाले नाका खुलाउन पहल गरिरहेको छ। तैपनि चीन सरकारले नाका खुलाउन चासो देखाएको छैन।

किमाथांका नाका बन्द हुँदा भोटखोला गाउँपालिकाको हटिया, चेपुवा, हुङहुङ, छुमसुर र च्याम्ताङलगायतका गाउँ प्रभावित बन्दै आएको छ। सो क्षेत्रका अधिकांश मानिस चीनको देदांग, रियु र चाँगा बजार दैनिक उपभोग्य खाद्यान्नदेखि लत्ताकपडासमेत त्यही निर्भर हुने गरेका थिए। 

सदरमुकाम खाँदबारी आवातजावात गर्न एक साता लाग्ने भएकाले उनीहरू चिनियाँ बजारमा निर्भर हुने गरेका हुन्। खाँदबारीबाट बरुणसम्म मात्रै सडक सञ्जाल जोडिएको छ। भोटखोला गाउँपालिकाको केन्द्र हटियासम्म हिउँदमा मात्रै यातायातका साधान पुग्ने गर्दछन्। 

किमाथांका गाउँमा करिब एक सय घरपरिवार छन् । त्यहाँ प्रहरी चौकी, सशस्त्र प्रहरी चौकी, स्वास्थ्यचौकी, मकालु बरुण राष्ट्रिय निकुञ्जको सम्पर्क कार्यालय, एक आधारभूत विद्यालय र वडा कार्यालयबाहेक अरू सरकारी कार्यालय छैनन्। 

अधिकांश मानिस पशुपालन गर्ने गर्दछन्। सो क्षेत्रका अधिकांश हुनेखाने मानिस अन्यत्रै बस्ने गर्दछन्। त्यहाँ प्रायः जसो आर्थिक अवस्था कमजोर भएका मानिस मात्रै बस्ने गरेको पाइन्छ। 

संखुवासभाको कर्णाली अर्थात् दुर्गम क्षेत्र भनेर किमाथांकालाई चिनिने गरिन्छ । यसअघि पनि किमाथांकामा भोकमरी फैलिएपछि हेलिकाेप्टरमा ढुवानी गरेर खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू राहत वितरण गरेको थियो।