मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ९ मंगलबार १३:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : व्याँसका प्रमुख प्रशासकीय अधिकृत हटाइए, प्राविधिक कर्मचारीलाई स्पष्टीकरण

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार १३:४०:००

व्याँस गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई गाउँ कार्यपालिका बैठकले जिम्मेवारीबाट हटाएको हो ।

फागुन ५ गते व्याँस गाउँपालिकाका कर्मचारी कार्यालय छोडेर धनगढीमा रमाउँदै शीर्षकमा समाचार प्रकाशित गरेपछि गाउँ कार्यपालिका बैठकले उनलाई जिम्मेवारीबाट हटाएको हो । तत्कालका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य संयोजक चन्द्रसिंह कुँवरलाई दिइएको छ ।

बडूसँगै धनगढी गएका लेखापाल गोपालसिंह विष्ट, प्राविधिक शाखाका इन्जिनियर रमेशसिंह धामी, सबइन्जिनियर भुवन पन्त, प्राविधिक वीरेन्द्र विष्ट र प्रेम कोट्टारीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्राविधिक शाखाका पूरै टिम गाउँपालिकालाई जानकारीसमेत नगराई धनगढी गएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिए ।

कार्यपालिका बैठकले रोजगार संयोजक रमेश भट्टलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कर्मचारी भए पनि राजनीतिमा सक्रिय रहेको भन्दै कार्यपालिका बैठकले पहिलोपटकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

भट्ट नेपाल विद्यार्थी संघ दार्चुलाका सभापतिसमेत हुन् । ०७६ पुसमा भएको अधिवेशनबाट भट्ट नेविसंघ सभापति भएका थिए भने ०७७ सालमा गाउँपालिकाका रोजगार संयोजक भएका थिए । तत्कालीन व्याँस गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकी हुँदा भट्टले सभापतिसँगै रोजगार संयोजक बनेका थिए । यस्तै, भट्ट नेपाली कांग्रेसको गत वर्ष सम्पन्न जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका थिए ।

डेढ वर्षदेखि व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दै आएका बडूले दैनिक प्रशासन तथा कार्यपालिकाले गरेका निर्णयसमेत कार्यान्वयन नगरेको आरोप छ । ‘कार्यपालिका बैठकको निर्णय लेख्ने जिम्मा प्रशासकीय अधिकृत हो । तर, हामीले गरेका निर्णय प्रभावकारी ढंगले माइन्युट गरेको पनि देखिएन,’ गाउँपालिका प्रवक्ता धामीले भने, ‘कार्यालयको काम लथालिंग राखेर भएका कर्मचारीसमेत पालिकालाई जानकारी नै नहुने गरी बाहिर हिँड्ने गरेको पाइयो ।’