Skip This
कर्मचारीलाई तलब नदिएको भन्दै क्यानले रोक्यो गुणको उडान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार o८:२५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्मचारीलाई तलब नदिएको भन्दै क्यानले रोक्यो गुणको उडान

क्यानका प्रवक्ता निरौला भन्छन्– तलब सुविधा नपाएर तनावमा रहेका पाइलट तथा क्रु मेम्बरले सेवा दिँदा हवाई सुरक्षामा जोखिम बढ्न सक्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार o८:२५:oo

पाइलटसहित कर्मचारीलाई तलब सुविधा दिन नसकेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजी वायुसेवा कम्पनी ‘गुण एयरलाइन्स’का सबै उडान रोकेको छ । क्यानले सोमबार उडान रोक्न निर्देशन दिएपछि तत्कालका लागि गुणका सातवटै जहाज ग्राउन्डेड भएका छन् ।

जहाज उडानमा संलग्न कर्मचारीहरूलाई समेत तलब सुविधा नदिएपछि हवाई सुरक्षामा जोखिम बढ्न सक्ने ठहर गर्दै केही समयका लागि उडान रोक्न निर्देशन दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । घरजग्गा व्यवसायी राजेन्द्र शाक्यको लगानी रहेको गुण एयरलाइन्सले गत मंगलबारदेखि नै सबै उडान रोकेको थियो । 

पाइलट तथा क्रु मेम्बरलाई तालिम दिनुपर्ने र जहाज मर्मतका लागि विदेशबाट पार्टपुर्जा आउनसमेत ढिलाइ हुँदा उडान रोक्नुपरेको कम्पनीले बताउँदै आएको थियो । तर, उडान बन्द भएपछि गुणको अडिट गर्दा कर्मचारीलाई तलब खुवाउन नसकेको, विभिन्न क्षेत्रको बक्यौता तिर्न बाँकी रहेको र कम्पनीको वित्तीय अवस्थासमेत कमजोर रहेको भेटिएको निरौलाले बताए । ‘तलब सुविधा नै नपाएका कर्मचारीहरूले सेवा दिँदा हवाई सुरक्षा कति होला ?’ उनले भने, ‘हवाई सुरक्षा प्रत्याभूति बढाउन नसकेसम्म उडान गर्न दिनुहुँदैन ।’

 तलबको समस्या छैन : गुण
कर्मचारीलाई तलब सुविधा नदिएर उडान बन्द भएको आरोपमा कुनै सत्यता नरहेको गुणका मार्केटिङ प्रमुख प्रज्वल थापाले बताए । जहाजको मर्मत तथा क्रु मेम्बरलाई तालिम दिनुपरेकाले आफैँले उडान रोकेको उनको भनाइ छ । ‘हाम्रो सोमबारदेखि उडान सुचारु गर्ने योजना थियो, तर पार्टपुर्जाको कमीले मेन्टेनेन्समा समय लाग्यो,’ उनले भने, ‘अब सोमबारसम्म जहाज मर्मत गरेर उडान सुचारु गर्ने योजना छ ।’

गुण एयरलाइन्स आर्थिक संकट नपरेको बताउँदै थापाले भने, ‘कर्मचारीलाई तलब खुवाउन नसकेर उडान नै रोक्नुपर्ने अवस्था छैन ।’ जहाज नउडाएपछि नियमनकारी निकायले चासो देखाउन स्वाभाविक रहेको उल्लेख गर्दै उनले साना १८ सिटे जेटस्ट्रिम जहाज मेन्टेनेन्स गरेर उडान सुरु गरिहाल्ने बताए । 

 पाँचवटा जेट स्ट्रिम बिक्री गर्दै
गुणसँग यती एयरलाइन्ससँग किनेका पाँचवटा जेट स्ट्रिम र पुरानो सिम्रिक एयर (हाल गुण)सँग रहेका दुईवटा बिचक्राफ्ट जहाज छन् । तर, सातवटा जहाज भए पनि पाँचवटा जहाजबाट मात्रै सेवा दिइरहेको गुणका मार्केटिङ प्रमुख थापाले बताए । ‘हामीले पाँचवटै जेट स्ट्रिम जहाज बिक्री गर्दै छौँ, जहाजको मूल्यांकन गर्न विदेशी पार्टी मंगलबार नै आएको छ,’ उनले भने, ‘अब हामीसँग साना दुईवटा बिचक्राफ्ट जहाज मात्र हुनेछन् ।’ एकातिर जहाज मर्मत र क्रु मेम्बरलाई तालिम दिनुपर्ने, अर्कोतिर जहाज हेर्न विदेशी एजेन्ट पनि यही समयमा आइदिँदा जहाज उडानमा केही ढिलाइ भएको थापाको भनाइ छ । जहाज हेर्न आएको विदेशी एजेन्ट अहिले काठमाडौंमै रहेको उनले बताए । आफैँले रोकेको उडान आगामी सोमबारदेखि बिचक्राफ्ट जहाजबाट पुनः सुरु गर्ने उनको भनाइ छ । 

 उडान गर्न आर्थिक अवस्था तन्दुरुस्त हुनुपर्छ :  क्यान
गुण एयरलाइन्सले बिग्रिएको आर्थिक अवस्था तन्दुरुस्त पारेपछि उडान गर्न दिने क्यानको तयारी छ । ‘कम्पनीले सबै कर्मचारीलाई तलब सुविधा दिएर सन्तुष्ट बनाउनुपर्छ, अन्य बक्यौता पनि चुक्ता गर्नुपर्छ,’ क्यानका प्रवक्ता निरौलाले भने, ‘कम्पनीको आर्थिक अवस्था बलियो भएको विश्वास दिलाउनासाथ पुनः उडान गर्न खुला गरिहाल्छौँ ।’

गुणले अहिले देखिएका समस्याहरू समाधान गरिसकेको क्यानलाई पत्रमार्फत जानकारी गराउनुपर्नेछ । त्यसपछि क्यानको टोलीले गुणको वित्तीय अवस्था, कर्मचारीको मनसिकता, तलब सुविधालगायतको अडिट गर्नेछ । अडिटका क्रममा सुधार देखिए उडान खुला गर्ने उनको भनाइ छ । गुण आर्थिक संकटमा नरहेकाले आगामी सोमबारदेखि उडान सुरु हुने मार्केटिङ प्रमुख थापाले बताए ।

गुण समूहका नामबाट व्यवसायमा जमेका राजेन्द्र शाक्यले दुई वर्षअघि एक अर्ब लगानीमा ‘गुण एयरलाइन्स’ रिभाइभ गरेका थिए । उनले यती एयरलाइन्सका पाँचवटा ‘जेट स्ट्रिम’ र आफ्नै पुरानै दुईवटा बिचक्राफ्टबाट पुनः उडान सुरु गरेका हुन् । डेढ दशकअघि घरजग्गा र सेयर बजार मन्दीका कारण करिब शून्यमा झरेपछि उनको गुण एयरलाइन्स सिम्रिक एयरमा परिणत भएको थियो ।