
सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आइतबार भएको फाइनलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । च्याम्पियन मच्छिन्द्रले १० लाख र उपविजेता जावलाखेलले पाँच लाख रुपैयाँ पाएका छन् ।
मच्छिन्द्र पहिलोपटक विजेता बनेको हो । साथै, मच्छिन्द्रले सिजनको पहिलो कपसमेत उचालेको छ । मच्छिन्द्रलाई च्याम्पियन बनाउने क्रममा विमल घर्तीमगर र कप्तान सुजल श्रेष्ठले एक–एक गोल गरेका थिए । २५ माघदेखि भएको प्रतियोगितामा एक विदेशी, दुई विभागीयसहित ए डिभिजन र मोफसल तथा आयोजकसमेत गरी १२ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए ।
बागमतीका गौतम सर्वोत्कृष्ट खेलाडी
बागमती युवा क्लबका सृजन गौतम सर्वोत्कृष्ट खेलाडी बने । उनले ५१ हजार रुपैयाँ पाएका छन् । यसैगरी, मच्छिन्द्रका विशाल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बने । उपविजेता जावलाखेलका सीमान्त थापा उत्कृष्ट डिफेन्डर र जावलाखेलका समीराज ठोकर उत्कृष्ट मिडफिल्डर बनेका छन् । मच्छिन्द्रका विमल घर्तीमगर उत्कृष्ट स्ट्राइकर र प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक हुँदै २५ हजार रुपैयाँ पाएका छन् । त्यसैबीच, प्रतियोगिताका उदीयमान खेलाडीको उपाधि बागमती युवाका अभिषेक वाइबा भए । उनले दुई सय सिसीको मोटरसाइकल हात पारेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।
दुवै हाफमा एक–एक गोल
फर्ममा रहेको जावलाखेलमाथि मच्छिन्द्रले दबाब राखेको थियो । मच्छिन्द्रले खेलको २९औँ मिनेटमा १–० को अग्रता लियो । मच्छिन्द्रलाई विमलले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जावलाखेलका डिफेन्डर आदित्य चौधरीले मच्छिन्द्रका अभिषेक गुरुङलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा विमलले गोल गरे । उनले पहिलो बार च्याप्दै गोल गरेका हुन् ।
खेलको ८०औँ मिनेटमा मच्छिन्द्रका कप्तान सुजलले २–० को अग्रता दिलाए । सौरभ लिम्बूले कर्नर प्रहार गरेको बल जावलाखेलका गोलरक्षक अनिश देउवाले पञ्च गरे । गोलरक्षक देउवाबाट रिबाउन्ड भएको बललाई सुजलले गोल गर्न सफल भए ।
खेलको ८४औँ मिनेटमा जावलाखेलका विनोद केसीले फाइनल खेललाई २–१ को अवस्थामा पु¥याए । मच्छिन्द्रका गोलरक्षक विशाल र डिफेन्डर दिवाकर चौधरीबीच तालमेल नमिल्दा विनोदले गोल गरेका हुन् । विनोदले जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका गरे पनि काफी भएन । फाइनल खेलका म्यान अफ द म्याच मच्छिन्द्रका सुजलले १० हजार रुपैयाँ हात पारे ।
फाइनलको प्रदर्शन चित्तबुझ्दो भएन
प्रवेश कटवाल, प्रशिक्षक, मच्छिन्द्र
हामीले लगातार खेल खेलिरहेका छौँ । यसकारण खेलाडीले आराम पाउन सकेनन् । थकित खेलाडीले फाइनलमा राम्रो खेल्न सकेनन् । यद्यपि, सुरुदेखि नै सम्हालिएर खेलेका कारण फाइनलको नतिजा हाम्रो पक्षमा आएको हो । ८४औँ मिनेटमा डिफेन्डरले गरेको गल्तीका कारण गोल भएको हो ।
पहिलो पेनाल्टी दुर्भाग्यपूर्ण रह्यो
सुनील श्रेष्ठ, प्रशिक्षक, जावलाखेल
खेलाडीले उपाधि जित्न मिहिनेत गरेका थिए । हामीले प्राप्त गरेको गोल अवसर चुकायौँ । त्यो हाम्रो लागि दुर्भाग्यपूर्ण रह्यो । खेलमा मच्छिन्द्रले पेनाल्टीमा अग्रता लियो । त्यो पेनाल्टी नै हाम्रा लागि दुभाग्र्यपूर्ण रह्यो । पेनाल्टी गोलपछि खेलाडी दबाबमा आए । त्यसपछि उनीहरूले आफ्नो लय बिगारे ।