मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ०६:२६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

म्यानमारमा फसे करिब सय नेपाली कामदार

अवैध काम गर्न बाध्य पारेको भन्दै उद्धारका लागि गुहार

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ०६:२६:००

 कम्पनीले अनलाइन जुवा खेलाउन, कल सेन्टरमा फ्रड गर्न र क्रिप्टो करेन्सीमा ठगी गर्न लगाउनेजस्ता अवैध काममा बाध्य पारेको पीडितको गुनासो 

आकर्षक तलब र सुविधाको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब सय नेपाली कामदारले अवैध काम गर्न बाध्य पारेको भन्दै उद्धारका लागि याचना गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आश्वस्त पारेर लगिएका उनीहरूलाई कम्पनीले अनलाइन जुवा खेलाउन, कल सेन्टरमा फ्रड गर्न र क्रिप्टो करेन्सीमा ठगी गर्न लगाउनेजस्ता अवैध काममा बाध्य पारेको पीडितको गुनासो छ । 

दैनिक १२–१३ घन्टा काममा लगाएर पारिश्रमिकसमेत नदिएको कम्पनीले राहदानी पनि जफत गरेको भन्दै कामदारले म्यानमारस्थित नेपाली दूतावाससँग गुहार मागेका छन् । केइन प्रदेशस्थित म्याउडी भन्ने स्थानबाट नेपाली कामदारले उद्धार गरिदिन सम्पर्क गरेको म्यानमारस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख गंगा सुन्दासले बताइन् । उनका अनुसार गत २९ नोभेम्बरमा पहिलोपटक २० जनाले आफूहरूलाई अवैध काममा लगाइएको भन्दै उद्धार गरिदिन सम्पर्क गरेका थिए । पीडितले आफ्नो समूहको पासपोर्ट डिटेलसहित दूतावासमा सम्पर्क गरेका थिए । त्यस्तै, दोस्रोपटक पनि २० जनाको समूहले सम्पर्क गरेको उनले बताइन् । 

‘नेपाली कामदारले हामीलाई फोनबाट सम्पर्क गरे । आफूलाई अवैध रूपमा काममा लगाएको गुनासो गरे । हामीले तत्काल म्यानमार सरकारलाई घटनाबारे जानकारी गरायौँ । कामदारको विवरण पनि पठायौँ,’ सुन्दासले भनिन्, ‘तर, ती कामदारको सरकारी निकायमा कुनै पनि तथ्यांक नभेटिएको म्यानमारले जानकारी गराएको छ ।’ 

नेपालीबाहेक अन्य मुलुकका कामदार पनि सोही समस्यामा फसेका छन् । हाल अन्य मुलुकको दूतावासले आफ्ना कामदारको उद्धारका लागि चालेको प्रक्रियालाई निगरानी गरिरहेको सुन्दासले बताइन् । ‘त्यहाँ भारतलगायत अन्य मुलुकका कामदार पनि फसेका छन् । ती मुलुकका दूतावासले कसरी उद्धार गर्दै छन् भनेर हामीले निगरानी गरेका छौँ । उनीहरू पनि पर्ख र हेरको अवस्थामै छन्,’ उनले भनिन् । 

केइन म्यानमारको द्वन्द्वग्रस्त सहर हो । त्यसैले पनि म्यानमार सरकारले सीधै हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको सुन्दासले बताइन् । ‘नेपालीहरू फसेको केइन द्वन्द्व चलिरहेको ठाउँ हो । त्यसैले हामीले म्यानमारलाई पनि केही भन्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘तर, नेपाली कामदार आफैँ कुनै प्रक्रियाबाट भाग्न सफल भए भने हामीले थप सहयोग गर्न सक्छौँ ।’ 
दूतावासमा उद्धारका लागि आग्रह गर्ने नेपाली कामदारका अनुसार सो स्थानमा २० क्याम्प छन् । प्रत्येक क्याम्पमा दुई सयका दरले कामदार राखिएको छ । क्याम्पमा ३३ मुलुकका कामदार रहेको र नेपालीको संख्या ७० देखि सयसम्म हुन सक्ने पीडितले बताएका छन् । 

म्यानमारस्थित नेपाली दूतावासकी  नियोग उपप्रमुख गंगा सुन्दास भन्छिन्–द्वन्द्व चलिरहेको ठाउँमा  नेपालीहरू फसेका छन्
नेपाली कामदारले हामीलाई फोनबाट सम्पर्क गरे । आफूलाई अवैध रूपमा काममा लगाएको गुनासो गरे । हामीले तत्काल म्यानमार सरकारलाई घटनाबारे जानकारी गरायौँ । कामदारको विवरण पनि पठायौँ । तर, ती कामदारको सरकारी निकायमा कुनै पनि तथ्यांक नभेटिएको म्यानमारले जानकारी गराएको छ । त्यहाँ भारतलगायत अन्य मुलुकका कामदार पनि फसेका छन् । ती मुलुकका दूतावासले कसरी उद्धार गर्दै छन् भनेर हामीले निगरानी गरेका छौँ । उनीहरू पनि पर्ख र हेरको अवस्थामै छन् । नेपालीहरू फसेको केइन द्वन्द्व चलिरहेको ठाउँ हो । त्यसैले हामीले म्यानमारलाई पनि केही भन्न सक्ने अवस्था छैन । तर, नेपाली कामदार आफैँ कुनै प्रक्रियाबाट भाग्न सफल भए भने थप सहयोग गर्न सक्छौँ ।

कसरी पुर्‍याइए म्यानमार ? 
अधिकांश नेपाली कामदार नेपाल, दुबई, कतार, मलेसियालगायतका मुलुकबाट म्यानमार पुगेका छन् । म्यानमारका कम्पनीले सामाजिक सञ्जालमार्फत डिजिटल सेल्स एन्ड मार्केटिङ म्यानेजरका लागि भन्दै कामदारको आवेदन माग्ने गरेको पाइएको छ ।

उच्च पारिश्रमिक, खान र बस्नेलगायतका आकर्षक सुविधाको प्रलोभनमा परेर नेपाली कामदारले ती कम्पनीमा आवेदन दिएको म्यानमारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार आवेदन दिने कामदारलाई कम्पनीले भिसा प्रक्रियादेखि, बिमा, जहाज टिकटसमेत पठाएर पर्यटक भिसामा बोलाउने गरेका छन् ।

कतिपय नेपाली कामदारलाई बैंकक हुँदै र केहीलाई यांगुन हुँदै केइन पुर्‍याएको दूतावासले जनाएको छ । केइन सहर बैंककको सीमासँग जोडिएको छ । त्यसैले नेपाली कामदारलाई बैंककबाट डुंगामार्फत सो स्थानमा लगेको दूतावासको अनुमान छ । त्यस्तै, यांगुन सहरमा गएका नेपालीलाई सडकमार्ग हुँदै पुर्‍याइएको छ । 

म्यानमारको सानबाट एक नेपालीको उद्धार 
रोजगारीका लागि दुबई पुगेका इलामका ३० वर्षीय योगराम लिवाङ अनलाइन आवेदन दिएर म्यानमारको सानस्थित युकोजिम्स कम्पनीमा पत्थरसम्बन्धी काम गर्न भन्दै पुगे । आकर्षक तलब दिने आश्वासनमा कम्पनीले बोलाएपछि उनी पर्यटक भिसामा यांगुन पुगे र त्यहाँबाट कम्पनीले चीनको सिमाना जोडिएको सान प्रदेश पुर्‍यायो । तर, कम्पनीले अवैध काम लगाउन थाल्यो । त्यस्तो काम गर्न नमानेपछि रोजगारदाताले शारीरिक यातना दिएको पीडितलाई उद्धृत गर्दै म्यानमार दूतावासकी हेड अफ मिसन गंगा सुन्दासले बताइन् । 

म्यानमारस्थित दूतावास तथा गैरआवासीय नेपाली संघ म्यानमारको सहयोगमा लिवाङको उद्धार गरिएको छ । आइतबार उनलाई भारतको कोलकाता पठाइएको र त्यहाँबाट नेपाल फर्किने गैरआवासीय नेपाली संघ म्यानमारका अध्यक्ष देवेन्द्र नौलाखाले जानकारी दिए । उनका अनुसार लिवाङ ५ फेब्रुअरीमा दूतावासको सम्पर्कमा पुगेका थिए । उद्धारका लागि दूतावासले आवश्यक कागजपत्र तयार गरेको र गैरआवासीय नेपालीले आर्थिक सहयोग जुटाएकोे उनले बताए ।

लिवाङसँगै इन्डोनेसिया र भारतका चार–चार कामदार पनि म्यानमार पुगेका थिए । म्यानमार पुगेका एक भारतीय नागरिकलाई स्वदेश फर्काइदिने सर्तमा रोजगारदाताले २० डलर मागेको थियो । ती पीडितले घरबाट पैसा झिकाएर रोजगारदातालाई दिए पनि झनै यातना दिन थालेको लिवाङलाई उद्धृत गर्दै सुन्दासले बताइन् । 

रोजगारदाताले धेरै यातना दिन थालेपछि उनीहरू भाग्न सफल भएका थिए । दूतावासले कम्पनीबारे म्यानमारस्थित प्रहरीमा उजुरीसमेत गरेको छ । कम्पनी म्यानमारको सरकारी कार्यालयमा दर्ता भएको पाइएको उनले बताइन् ।