Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ७ आइतबार २०:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२९४ को जाँच गर्दा २५ जनामा क्यान्सर पुष्टि

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ७ आइतबार २०:३८:००

बाँकेमा महिलाको पाठेघर मुखको क्यान्सरको अवस्था भयावह बन्दै गएको छ। 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले दुई सय ९४ महिलाको पाठेघर जाँच गर्दा २५ जना महिलाको पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएको हो। 

निर्धन उत्थानले कोहलपुरमा गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका दुई सय ९४ महिलाको प्याप स्मेयर र भिआइए जाँच गर्दा ती महिलामा प्रारम्भिक चरणको क्यान्सर पुष्टि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. श्याम विकले जानकारी दिए। 

जाँचका लागि आएका महिलाको पाठेघरको जाँच गर्ने क्रममा शंका लागेका महिलाको प्याप स्मेयर र भिआइए जाँच गर्दा २५ जना महिलाको पाठेघरमा पहिलो चरणको क्यान्सर देखियो,’ उनले भने।  

संस्थाले स्थापना गरेको समूहमा आबद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा प्रेसर, सुगर, थाइराइडजस्ता समस्या देखिएको उनले बताए।

‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भए पनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको संख्या पनि उत्तिकै छ,’ उनले भने। 

संस्थामा आबद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न शिविर सञ्चालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए। 

स्वस्थ जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको समूहमा आबद्ध उद्यमी महिलाको स्वास्थ्य परीक्षण गरिएको बताए। 

‘स्वस्थ भए मात्र उद्यमी महिलाले राम्रोसँग उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहसनहस हुन्छ,’ उनले भने, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ।’

उनले कर्जाको दुरुपयोग भए खराब स्थिति निम्तिने बताउँदै गरिबी निवारण गर्न सीपलाई उत्पादनसँग जोड्नुपर्ने बताए । ‘प्रविधि र सीपलाई उत्पादनसँग जोड्दा गरिबी हट्छ,’ उनले भने।

बाँकेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा २१ हजार एक सय ४६ जना महिला आबद्ध रहेको संस्थाका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले बताए। 

समूहमा आबद्ध महिलाको उपचारमा टेवा पुर्याउन निर्धन उत्थानले यसअघि स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो। ‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपछि हाम्रो संस्था पछाडि हटेको हो,’ गौतमले भने ।