१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ फाल्गुण ७ आइतबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्रका लागि रामेछापमा ८० हजारको विवरण संकलन

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ फाल्गुण ७ आइतबार १३:२८:००

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ह्वात्तै बढेको छ । हालसम्म रामेछापमा ८० हजार नागरिकले फोटोसहित व्यक्तिगत विवरण दिएर परिचयपत्रका लागि नाम लेखाएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले रामेछाप जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्थानीय तहको वडा–वडासम्म लगत संकलन गर्ने अभियान चलाएसँगै रामेछापमा परिचयपत्रका लागि नाम लेखाउनेको संख्या बढेको हो । जिल्लाको दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटै स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकामा परिचयपत्रका लागि व्यक्तिगत विवरण संकलन गर्ने काम सकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।

‘अहिलेसम्म मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा शैलुुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकामा परिचयपत्रका लागि विवरण संकलन गर्ने सवै काम सकिएको छ,’ उनले भने, ‘यसबाहेक बाँकी रहेका उमाकुुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोसी गाउँपालिकामा पनि फागुन महिनाभित्र सक्ने तयारी छ ।’

अहिले जिल्लामा ३५ वटा टोलीले परिचयपत्रका लागि विवरण लिने काम गरिरहेको छ । जसमा अहिलेसम्म स्थानीय तहबाट ५५ हजार र जिल्ला प्रशासन कार्यालयबाट २४ हजारले परिचयपत्रका लागि फोटोसहितको विवरण दिएका छन् । हाल संकलन भइरहेका सबै पालिकाको विवरण संकलन गर्दा जिल्लामा एक लाखबराबरका व्यक्तिले विवरण प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले ०७७ साउन १ गतेदेखि विवरण संकलन गर्ने काम गरेको भए तापनि स्थानीय तहमा भने गत दुई महिनादेखि सुरु गरेको हो । पहिला प्रशासन कार्यालयमा नागरिकता र राहादानी बनाउन जाने व्यत्तिले मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण भराउने गर्दा अभियानले  गति लिन सकेको थिएन । अहिले उक्त अभियान जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्म पुर्‍याएसँगै परिचयपत्रको विवरण संकलन गर्ने कामले गति लिएको हो ।