Skip This
लोकतन्त्रविरुद्ध कृत्रिम ‘ब्ल्याकहोल’ निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ७ आइतबार ११:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकतन्त्रविरुद्ध कृत्रिम ‘ब्ल्याकहोल’ निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार ११:३४:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। 

प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको बताए।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ। गल्ती–कमजोरी, असल–खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ, तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्रमात्र सम्भव छ,’ महरले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उक्त अभिव्यक्तिलाई इंगित गर्दै महरले उक्त धारणा राखेका हुन्।

त्यसैले जुनसुकै कुनाकन्दराबाट थालिएको लोकतान्त्रिक व्यवस्थाविरोधी ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न छोडेर लोकतान्त्रिक पद्धतिका माध्यमबाटै जनता र देशको समुन्नतिको महाअभियानमा लाग्ने प्रेरणा लोकतन्त्रवादी र सबैखाले अतिवादीहरूमा मिल्नुपर्ने उनले बताए।

मुलुकको समृद्धिका लागि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनुपर्ने महरको भनाइ छ। नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति सच्चा सम्मान पनि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेमात्रै हुने उनले बताए।

‘जनताको आन्दोलनले निरंकुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ। एक सय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुण्ठित पारेको थियो। मानव अधिकारको उपयोग गर्न पाएका थिएनन्। राणाहरूको निरंकुश शासनबाट दबिएका जनता विस्तारै संगठठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले २००७ फागुन ७ गते सफलता पाएसँगै राणा शासनको अन्त्य गरी प्रजातन्त्रको घाम उदाएको थियो,’ उनले भने।

जनताको शक्तिका अगाडि जस्तोसुकै निरंकुश शासकहरूले पनि घुँडा टेक्नै पर्ने बताउँदै लोकतान्त्रिक चरित्र भएको नेता नै सच्चा जनप्रिय नेता हुने उनले बताए। ‘विश्वको इतिहासले पनि यही देखाएको छ। रुसमा जारको निरंकुश शासन, फ्रान्समा लुई सोहौँको निरंकुश शासन, बेलायतको गौरवमय क्रान्ति यसका केही उदाहरण हुन्,’ महरले भने।

नेपालमा लोकतन्त्रको स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा जसरी परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसके पनि धेरै सकारात्मक प्रभावहरू भने पक्कै परेको महरले दाबी गरे। जनताले मौलिक हकको निर्वाध रूपमा उपयोग गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ। 

‘जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन सक्दछन्। विकासका लागि नयाँ सोच र अवधारणा आउनुका साथै सुशासन र जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको छ। विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थापित भएको छ,’ उनले भने।