१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०८:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोहोरो सवारीसाधन गुड्ने सडकमा रहेका पार्किङ हटाउँदै काठमाडौं महानगर 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०८:२०:००

काठमाडौं महानगरपालिकाले दोहोरो सवारीसाधन चल्ने सबै सडकबाट पार्किङ हटाउने भएको छ । महानगरले बागबजारबाट सुरु गरेको यो अभियानलाई सबै स्थानमा लागू गर्न लागेको हो । 

ट्राफिक व्यवस्थापनमा देखिएको समस्या कम गर्न, दुर्घटनाको जोखिम न्यूनीकरणका लागि महानगरले यो अभियानलाई निरन्तरता दिन लागेको जनाएको छ । महानगरका अनुसार अबदेखि महानगरभित्रका दोहोरो सवारीसाधन चल्ने सबै सडकका पार्किङ हटाइनेछ । ‘सडक भनेको सवारी गुड्नका लागि हो । त्यसैले दोहोरो सवारी गुड्ने सबै ठाउँका पार्किङ हटाउन थालेका हौँ,’ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

महानगरले दरवारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाइसकेको छ । पार्किङ हटाएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित भएका थिए । दरबारमार्ग क्षेत्रका व्यवसायी अझै पनि विरोधमै छन् । बागबजार क्षेत्रको पार्किङ पुरानो बसपार्कस्थित सिटी मार्केटमाको भुइँतलामा निःशुल्क व्यवस्था गरिएको छ । दरबारमार्ग आउनेका लागि विश्वज्योति हलको पार्किङ प्रयोग गर्न भनिएको छ । जुन पार्किङ सशुल्क हो । 

सडकको पार्किङस्थलको विकल्प निजी पार्किङ
महानगरसँग अझै पनि कुन ठाउँमा पार्किङ गर्न दिने वा नदिने भन्ने विकल्प छैन । तर, मुख्य सहरका सबै क्षेत्रका पार्किङ भने एक सुत्रिए अभियानमा छ । यसको फाइदा निजी पार्किङस्थल सञ्चालकहरूले लिइरहेका छन् । उनीहरूले चर्को शुल्क लिने गरेको सर्वसाधारणको गुनासो छ । ‘दोहोरो सडकका पार्किङ धेरै ठाउँबाट हटाइसकेका छौँ । निजी भवन जुन प्रयोजका लागि निर्माण भएको हो सोहीअनुसार बन्नुपर्छ । व्यावसायिक भवनले पार्किङ आफँै बनाउनुपर्छ । त्यसैले जति पनि अव्यवस्थित पार्किङ छन् । ती सबैलाई हटाउने नै हो,’ नगर प्रहरी पाण्डेले भने । 

काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनर्भरणका लागि अध्ययन अघि बढाएको छ । महानगरले वडा नम्बर १५ बाट काम सुरु गरिसकेको छ । सो कार्यका लागि महानगरले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘सुरुवातमा महानगरका ३२ वटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रूपमा आउँछ, कतिमा आउँदैन, पानी पुनर्भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोहीअनुसार काम भइरहेको छ,’ उनले भने । 

खुलामञ्चमा भूमिगत पार्किङस्थल बनाउने योजना अघि बढेन 
महानगरपालिकाले खुलामञ्चमा बनाउने भनेको ट्रिप्पल बेसमेन्ट पार्किङको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढ्न सकेको छैन । चौतर्फी विवाद भएपछि यो योजनालाई महानगरले प्राथमिकता दिएको छैन । प्राकृतिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक तथा आपत्विपत्मा सर्वसाधारणले आश्रय लिने ठाउँ भएकाले यसलाई जोगाउनुपर्ने धेरैको जोड छ । साथै, प्राकृतिक रूपमा उपत्यकाका हिटीहरूमा पानी रिचार्ज प्रणालीसँग पनि खुलामञ्ज जोडिएको छ । त्यसलाई बेवास्ता गर्दै महानगरले भूमिगत पार्किङका लागि डिपिआर अघि बढाउन अग्रसर हुनु गलत भएको भन्दै सम्पदा अभियन्ताले विरोध गर्दै आएका छन् । महानगरको २९ कात्तिकमा बसेको दसौँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिप्पल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्नका लागि खुलामञ्चमा पार्किङ निर्माण गर्न डिपिआर बनाउने निर्णय भएको थियो ।