१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०७:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महाशिवरात्रिका अवसरमा सात लाखले गरे पशुपति दर्शन 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण ७ आइतबार ०७:३०:००

साढे तीन हजार साधुसन्तलाई सोमबार बिदाइ गरिने, पाँच सयदेखि आठ हजारसम्म भेटी 

महाशिवरात्रिका अवसरमा २४ घन्टामा सात लाख भक्तजनले पशुपति दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषले ३० लाख भक्तजनले दर्शन गर्ने अनुमान राखे पनि शनिबार बिहान तीन बजेदेखि आइतबार बिहानसम्म सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् । 

रेवतीरमण अधिकारी, प्रवक्ता, पशुपति क्षेत्र विकास कोष
यो वर्ष नेपालभन्दा बाहिरबाट आउने झन्डै ३० हजार दर्शनार्थी थिए । त्यसमध्ये २० हजार भारत र अन्य भक्तजन श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स, मलेसिया, कतार, इन्डोनेसियालगायत मुलुकका रहेका छन् ।

शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन पाँचवटा बनाइएको थियो । धेरैवटा लाइन बनाइएकाले दर्शनार्थीलाई सहज भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार अन्य वर्षहरूमा भन्दा यो वर्ष भक्तजनको चाप देखिएको थियो । नेपाल तथा दक्षिण एसियाली देशका भक्तजन दर्शनका लागि आएकाले यो वर्ष गत वर्षहरूमा भन्दा भिड लागेको उनको भनाइ छ । ‘यो वर्ष नेपालभन्दा बाहिरबाट आउने झन्डै ३० हजार दर्शनार्थी थिए । त्यसमध्ये २० हजार भारत र अन्य भक्तजन श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स, मलेसिया, कतार, इन्डोनेसियालगायत मुलुकका रहेका छन्,’ उनले भने । 

अधिकारीका अनुसार विदेशी दर्शनार्थीलाई लाइन नलागी दर्शन गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसका लागि कोषले टोकनको व्यवस्था गरेको थियो । बाहिरबाट आएका पाहुना दर्शनार्थीलाई सहज बनाउन लाइनमा नबसे पनि हुने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीको भनाइ छ । तर, नेपाली भक्तजनलाई भने अनिवार्य लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । लाइन लागेको करिब दुई–तीन घन्टापछि दर्शनार्थीले दर्शन गर्न पाएका थिए । भक्तजनको अत्यधिक भिडभाडका कारण तिलगंगा, जयबागेश्वरी, गौशालाचोकसम्म लाइन थियो । पशुपति क्षेत्र विकास कोषले भक्तजनको भिड हुने भएकाले शनिबार बिहान तीन बजे नै मन्दिरको ढोका खोलेको थियो । शनिबार रातभर मन्दिर खुला राखिएको छ । आइतबार बिहानभरि दर्शनार्थीको भिडभाड हुने अनुमान गरिएको छ । 

१५ लाखभन्दा बढी भेटी उठेको अनुमान 
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसारशिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा बढी भेटी तथा दान–दक्षिणा संकलन भएको अनुमान गरिएको छ । उनका अनुसार यसको यकिन गणना भने आइतबार मात्रै हुनेछ । तर, भक्तजनको संख्याका आधारमा १५ लाखभन्दा बढी भेटी संकलन भएको अनुमान गरिएको छ । विगतका वर्षहरूमा झन्डै चार–पाँच लाख भक्तजनले दर्शन गर्दा झन्डै आठ लाख भेटी संकलन हुन्थ्यो । यो वर्ष भक्तजनको संख्या बढेकाले भेटी पनि बढी संकलन भएको अनुमान कोषले गरेको हो । 

कोषले पशुपतिनाथ क्षेत्रमा आएका साधुसन्तलाई सोमबार बिदाइ गर्ने भएको छ । भारतलगायत विभिन्न देशबाट आएका भक्तजनलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने भएको छ । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई ०६८ देखि कोष र संस्थानले भेटी तथा दान–दक्षिणा दिन थालेका थिए । साधुसन्तको स्तरअनुसार प्रतिव्यक्ति पाँच सयदेखि आठ हजारसम्म दक्षिणा दिने कोषले जनाएको छ । नागा बाबालाई आठ हजार भेटी तोकिएको छ । यसबाहेक कोही विशिष्ट साधुसन्तले आफ्नो स्तरअनुसारको भेटीसमेत माग गर्छन् । तर, कोष र संस्थाले बढीमा आठ हजार एक सय रुपैयाँसम्म भेटी दिने गरेका छन् । अन्य सामान्य साधुसन्तहरूलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । यो वर्ष झन्डै तीन हजार पाँच सय साधुसन्त आएको कोषले जनाएको छ । 

राष्ट्रपतिले गरिन् देशवासीका नाममा संकल्प र विशेष पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले शिवरात्रिका अवसरमा देशवासीका नाममा संकल्प र विशेष पूजा गरेकी छिन् । शनिबार अपराह्न ४ः३० बजे पशुपतिनाथ मन्दिर पुगेर उनी विशेष पूजामा सरिक भएकी हुन् । उनले देशमा शान्ति, अमनचयन र समृद्धिको कामनासहित देशवासीका नाममा संकल्प तथा विशेष पूजा गरेकी थिइन् । त्यस्तै, शिवरात्रिका अवसरमा शनिबार चार सयवटा विशेष पूजा भएका छन् । विभिन्न व्यक्तिले आ–आफ्नो संकल्पसहित विशेष पूजा गरेका हुन् । पूजा आराधनापछि राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति पशुपतिनाथ मन्दिर आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

जगद्गुरु निश्चलानन्दको प्रवचन र आशीर्वाद थाप्नेको भिड
यसपटक शिवरात्रिका दिन वेदको व्याख्या सम्बन्धित विशेष प्रवचनका लागि भारतको जगन्नाथपुरी मठका मठाधीश जगद्गुरु निश्चलानन्द सरस्वती आएका छन् । उनको प्रवचन सुन्न र आशीर्वाद थाप्न आउनेको पशुपति क्षेत्रपरिसरमा भिड बढेको छ । बिहीबार साँझ आएका सरस्वती सोमबार फर्कनेछन् । शिवरात्रिका दिन उनको पशुपति क्षेत्रमा विशेष प्रवचन राखिएको थियो भने शंकराचार्य मन्दिरको शिलालेख अनावरण पनि गरिएको छ । उनलाई शिवरात्रिका अवसरमा कोषले डाकेको थियो । भारतका चारवटा प्रसिद्ध हिन्दू मठमध्येका एक मठका मठाधीश उनलाई मानिन्छ । जगद्गुरु निश्चलानन्दले हिन्दू दर्शन, वेद र शिव–पार्वतीको कथामा तीन दिन प्रवचन दिने कार्यक्रमसहित निमन्त्रणा गरिएको थियो । 

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्दै जाँदा आवश्यकताअनुसार सवारीसाधन डाइभर्ट गरिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको थियो ।