१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पौने २९ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन, संरचना जीर्ण बन्ने जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o२:oo

कोरोना महामारीका वेला भारतबाट स्वदेश फर्कने कोरोना संक्रमितलाई राख्नका लागि त्रिनगर भन्सार नाकानजिक बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छ । २८ करोड ८१ लाख रुपैयाँको लागतमा बनेको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ ।

कोरोना संक्रमणको अवस्था सामान्य भएकाले होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगमा आएको छैन । कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक होल्डिङ सेन्टर निर्माण गरेको थियो । सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता रहे पनि करिब एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो ।

नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो । २० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन् । जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका हुन् । १४ वटा क्वारेन्टिन ब्लकमा तीन सयवटा शय्या राखिएका छन् । 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले लामो समयदेखि कोरोना संक्रमणको अवस्था सामान्य रहेकाले होल्डिङ सेन्टर कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको बताए । केही समयअघि रक्षा मन्त्रालयका अधिकार आएर होल्डिङ सेन्टर प्रयोगबारे छलफल र अध्ययन गरेर फर्किएको उनले जानकारी दिए । अस्पताल वा सुरक्षा निकायका लागि होल्डिङ सेन्टर प्रयोग गर्न सकिने कतिपयको भनाइ छ ।

यसअघि कोरोना संक्रमण सामान्यतर्फ उन्मुख रहेका वेला कुन निकायमातहत होल्डिङ सेन्टर सञ्चालन गर्ने भन्ने तय नभएकाले पनि सञ्चालनमा ढिलाइ भएको थियो । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले भारतबाट आउने संक्रमित र कोरोनाको लक्षण देखिएका नागरिकलाई राख्नका लागि नाका नजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

विगतमा कोरोना संक्रमणका दुवै लहरमा भारतबाट फर्केनेहरूलाई नाकामा परिक्षण र क्वारेन्टिन नराखी घर पठाउँदा सुदूरपश्चिमका गाउँगाउँमा संक्रमण फैलिएको पाइएपछि त्यस्तो अवस्थामा संक्रमितलाई राख्न होल्डिङ सेन्टर स्थापना गरिएको हो । सरकारले सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसहित देशभरका सातवटा नाकामा होल्डिङ सेन्टर बनाएको छ ।

ad
ad