
धनकुटाको सहिदभूमि गाउँपालिका– ४ बाट ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको छ । छिन्ताङबाट को.१ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चार सय किलो गाँजा बरामद गरेको हो ।
प्लास्टिकले प्याक गरी १५ वटा बोरामा हालेर ल्याउँदै गरेको अवस्थामा सो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी प्रवक्ता नरेन्द्र कुँवरले बताए । शनिबार राति करिब १० बजे छिन्ताङबाट हिलेतर्फ आउँदै गरेको पिकअपलाई प्रहरीको गस्ती टोलीले रोक्न खोज्दा नरोकी भागेको थियो । रातिको समयमा हेडलाइट बन्द गरेर गाडी हुइँक्याएपछि प्रहरीले पछ्याउँदै जाँदा मूलबाटो छोडेर सहायक बाटोमा लगेर गाडी छोडी चालक भागेका थिए ।
सोही क्रममा गाडी खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको डिएसपी कुँवरले बताए । गाडी छोडेर फरार रहेका गाडी चालक सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय किरण राईलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ । छिन्ताङमा गाडी छोडेर भागेका चालक राई सुनसरीको इटहरी उपमहानगरपालिका– २ बाट पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत धनकुटामा लागुऔषध ऐनअन्तरगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थप गरी गाँजाको कारोबारको विषयमा अनुसन्धान भइरहेको डिएसपी कुँवरले बताए ।