Skip This
जयसिंह धामी बेपत्ता भएको स्थानमा बन्याे झोलुंगे पुल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ४ बिहीबार २o:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जयसिंह धामी बेपत्ता भएको स्थानमा बन्याे झोलुंगे पुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार २o:५१:oo

व्याँस गाउँपालिका २, मालका जयसिंह धामी महाकाली तर्ने क्रममा एसएसबीले तुइन फुस्काइदिएर नदीमा बेपत्ता भएको डेढ वर्षपछि सोहीस्थानमा नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएको छ।
 
महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुंगे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको हो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लिइएको तुइनमुक्त कार्यक्रमअन्तर्गत महाकाली नदीमा झोलुंगे पुल निर्माणले तीव्रता पाएको हो। 

झोलुंगे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले ब्यानर काटेर उद्घाटन गरेका छन्।

मालघाट र मालघट्टेमा झोलुंगे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए। 

‘पुल निर्माणले व्यासका बासिन्दाको वर्षौँदेखिको पीडामा केही मह्लम लागेको छ,’ उनले भने, ‘स्थानीयले पुलमार्फत यात्रा गरे अब अकालमै ज्यान गुमाउनुपर्ने छैन।’ यहाँका स्थानीय बजार आउजाउ गर्न मात्र हैन खर काट्नसमेत नेपाल भारत आउजाउ गर्ने गर्छन्।

यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो। 

‘समयमै पुल निर्माण भइदिएको भए हामीले यतिका दुःख व्यहोर्ने थिएनौँ,’ व्यास गाउँपालिका २ मालका नरेन्द्रसिंह धामीले भने, ‘मेरो दाइले पुल निर्माण ढिलाइ भएकै कारण ज्यान गुमाएका हुन्।’ ढिलै भए पनि औपचारिक रूपमा पुल नियमित सञ्चालनमा आएको छ। 

नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ।’ स्थानीयले नेपाल–भारत आउतजावतमा सहज तुल्याएको छ। पुल नियमित सञ्चालनमा आएसँगै सुरक्षाको लागि सुरक्षाकर्मी खटाइएको छ।

भारत पिथौरागढ जिल्ला अधिकारी रीना जोशीले वर्षौदेखिको नागरिकको समस्या झोलुङ्गे पुल सञ्चाचनलपछि सहजता आएको प्रतिक्रिया दिइन्। ‘नेपाल–भारत दुई देशीय सम्बन्ध मात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुद बनाइदिएको छ,’ उनले भनिन्।

झोलुंगे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन्। दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीलाई सहयोग पुग्नेछ।

महाकालीमा झोलुंङे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। नेपालतिर सडक कालोपत्रे भइनसकेको अवस्था व्यासका नागरिकको लागि सहज बाटोको रूपमा भारतीय सडक पर्दछ।

भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन्। अहिले उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुंगे पुल सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल सञ्चालनमा ल्याएको जनाएको छ।

०७३ पछि लेकम ३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ, र तिगरममा झोलुंगे पुल निर्माण भएको हो। यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजीविमा झोलुङगे पुल सञ्चालनमा छ।
 
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माणा भइरहेको छ। 

व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा भने अझै झोलुंगे पुल निर्माण भएको छैन। स्थानीयले पटकपटक झोलुंगे पुल राख्न माग गरे पनि सुनुवाइ हुन नसकेको व्यास गाउँपालिका २, का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए।