१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले भारतलाई रोक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ४ बिहीबार ०७:०६:००

स्ट्राइकर सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई २–२ गोलको बराबरीमा रोकेको छ । खेलको ८९औँ मिनेटसम्म भारत २–० ले अघि थियो । त्यसपछि स्ट्राइकर सावित्राले लगातार दुई गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्न सफल भएको हो । सावित्राले नेपाललाई हारबाट जोगाइन् । चेन्नईस्थित जावहारलाल नेहरू रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चार गोल भए ।

नेपालले पहिलो हाफमा भारतलाई दबाबमा राखेको थियो । भारतका लागि सौम्य गुगुलोथ र इन्दुमथी काथिरेसनले एक–एक गोल गरे । खेलको ५६औँ मिनेटमा भारतले १–० को अग्रता लियो । बक्सभित्र प्राप्त बललाई सौम्यले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई बिट गर्दै गोल गरिन् । खेलको ६८औँ मिनेटमा भारत २–० ले अघि रह्यो । कप्तान इन्दुमतीले बक्सभित्र प्राप्त बललाई सहजै जाली चुमाइन् । अन्तिम मिनेटमा सावित्राले पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता २–१ मा झारेकी थिइन् । 

भारतीय रक्षक स्विटी देवीले बक्सभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी प्रीति राईले मिलाएको काउन्टर बलमा सावित्राले गोल गर्दै नेपालको हार टारेकी थिइन् । पहिलो हाफमा नेपालले तीन सुन्दर अवसर गुमाएको थियो । स्ट्राइकर सावित्राले अवसर गुमाउँदा नेपाल अग्रता बनाउन असफल रह्यो । दुवै राष्ट्रले ओलम्पिक छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन् ।