
कोभिडपछिको पर्यटनलाई बढावा दिने उद्देश्यले नेपालमा पर्यटन प्रवर्द्धन गर्न भारतको राजस्थानबाट उदयपुर होटेल संघका अध्यक्ष धीरज दोसीको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको छ । प्रतिनिधिमण्डललाई होटेल संघ नेपालले काठमाडौंमा स्वागत गरेको हो ।
उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै होटेल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सशक्त ढंगबाट काम गरिनुपर्ने बताइन् । उदयपुर होटेल संघका अध्यक्षमार्फत नेपालमा भारतीय पर्यटकलाई भ्रमणका लागि प्रचार–प्रसार गरिदिन उनले आग्रह गरिन् । उक्त अवसरमा उनले नेपालको सातै प्रदेशलाई समेटेर तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी पुस्तक हस्तान्तरण गरेको संघले जनाएको छ ।
उदयपुर होटेल संघका अध्यक्ष दोसीले होटेल संघ नेपालले गरेको आतिथ्यताको सराहना गर्दै आगामी दिनमा होटेल संघ नेपालसँग सहकार्य गर्दै दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सशक्त भएर अगाडि बढ्ने बताए ।