मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ३ बुधबार १०:२८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अडानीमाथि भारतमा अनुसन्धान सुरु 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ३ बुधबार १०:२८:००

भारतको बजार नियामकले अर्बपति गौतम अडानीको स्वामित्वमा रहेका कम्पनीविरुद्ध अमेरिकास्थित हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले प्रतिवेदननजिक रहेर उनीहरूको बजार गतिविधि जाँच गरिरहेको बताएको छ । अडानीको व्यापार साम्राज्यले बजारमा हेराफेरी र वित्तीय धोखाधडीको दाबीपछि सेयर बजारबाट एक सय अर्ब डलरले बजार मूल्य गुमाएको थियो । अडानी समूहले सो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

सोमबार सेबीले सर्वोच्च अदालतलाई अडानी समूहमाथिका आरोपबारे ‘रिपोर्ट प्रकाशनअघि र पछिको बजार गतिविधि’ अध्ययन गरिरहेको बतायो । ‘सेबीलाई सुसञ्चालन र धितो बजारको विकासलाई प्रभावकारी बनाउन नियामक ढाँचा कायम राख्न बलियो र पर्याप्त अधिकार दिइएको छ’ यसले फाइलिङमा भनेको छ । 

अडानी समूहले यसबारे तुरुन्तै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ । तर, आफूसँग बलियो नगद प्रवाह भएको समूहले रोयटर्स समाचार एजेन्सीलाई बताएको छ । ‘हामी सेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न हाम्रो पोर्टफोलियोको क्षमतामा विश्वस्त छौँ,’ समूहले भन्यो । 

यसैबीच, अडानी समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा करिब १० करोड डलर खुद मुनाफा कमाएको बताएको छ । यो कम्पनी अघिल्लो वर्षको सोही अवधिमा १५ लाख डलर घाटामा थियो ।
 एयरपोर्ट, कोइला व्यापार र ऊर्जा व्यवसायहरूमा राम्रो नाफाका कारण यसको कुल आम्दानी ४२ प्रतिशतले बढेर तीन अर्ब ३० करोड डलर पुगेको छ । ‘हाम्रो आधारभूत शक्ति ठूला पूर्वाधार परियोजनाको कार्यान्वयन क्षमताहरूमा निहित छ ।

हालको बजार अस्थिरता अस्थायी हो,’ नतिजाको व्याख्या गर्ने अडानीले भनेका छन् । कम्पनीले वृद्धि प्रक्षेपण वा लगानी योजनाहरूमा कुनै कटौतीको घोषणा गरेको छैन । हिन्डेनबर्ग रिपोर्टपछि हरित हाइड्रोजन परियोजनाका लागि अडानीसँग साझेदारी गर्ने फ्रान्सको टोटल एनर्जीले आफ्नो निर्णयमा टिप्पणी गरेको छैन ।