
नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ।
मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घन्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घन्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाए।
उनले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताए। उनले सरकारले पसल लुटपाट गर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरे। अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट आठदेखि १० करोड रुपैयाँबराबरको क्षति भएको बताए।
सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने बताए। उनले व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए।
त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब आठदेखि नाै करोड रुपैयाँबराबरको मोबाइल, पैसा र अन्य सामग्री लुटिएको बताए। सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताए।
महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए। मोबाइल व्यवसायीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको जनाएको महासंघले जनाएको छ। पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन्। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतमा ज्ञापनपत्र बुझाउने भएको छ।