
नेपाली सैनिक हेडक्वार्टर जंगी अड्डामा आयोजित दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अप्रेसनल अवस्थालगायतका विषयमा गहन छलफल भएको सेनाले जनाएको छ । हरेक वर्ष सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वय बैठक आयोजना हुने गर्छ ।
बैठकमा आठजना पृतनापतिले प्रधान सेनापतिसमक्ष गरेको कमान्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सेनाको भिजन २०३० कार्यान्वयन अवस्था, सञ्चालित विभिन्न तालिमको प्रभावकारिता, पृतना पुनस्र्थापनापछिको कमान्ड कन्ट्रोल र समन्वयका विषयमा छलफल भएको थियो । गत भदौमा भएको कमान्ड सेनापति समन्वयात्मक बैठकका माइन्युटमा भएका विषयको प्रगतिबारे छलफल भएको सेनाले जनाएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले आगामी कार्य थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन पृतनापति समन्वयात्मक बैठक सिद्ध हुने आशा व्यक्त गरे । आगामी दिनमा पृतनापतिहरूले बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान सहभागीहरूलाई प्रधानसनापतिले निर्देशन दिए । प्रधानसेनापतिले पृतनापतिहरूलाई आफ्ना सम्बद्ध निकायसँग प्रभावकारी समन्वय राख्न तथा निर्धारित समयमा सबै जिम्मेवारी स्तरीय रूपमा पूरा गर्न निर्देशन पनि दिएका छन् ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आइतबार बैठकको सुरुवात गरेका थिए । सोमबार भएको छलफलमा आठवटै पृतनाका पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपति सहभागी थिए । ‘समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका विषयवस्तुमाथि भएको गहन छलफल तथा अन्तत्र्रिmयाबाट प्राप्त भएका राय–सुझावले नेपाली सेनाको नीति–निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले भनेको छ ।