चीनको जासुसी बेलुन प्रायोजनहीन थियो । झन् सैन्य परिपे्रक्ष्यमा त यसको औचित्य नै थिएन । पृथ्वीको तल्लो कक्षमा उड्ने साना भूउपग्रहले जासुसी बेलुनले गर्ने लगभग सबै काम गर्न सक्छ । र भूउपग्रहको अर्को महत्वपूर्ण व्यावहारिक फाइदा हुन्छ– ती नांगो आँखाले देखिँदैनन् । जासुस बेलुन साना उपग्रहको समूहभन्दा बढी सस्तो हुने विषय पनि त्यति स्पष्ट छैन । त्यसैले, सैन्य कारणलाई बिर्सिदिनुस्, चिनियाँ सेना वा गुप्तचर निकायले जासुसी बेलुन तैनाथ गर्नुका अरू नै कारण छन्, जसको प्रभावकारिता, व्यावहारिकतासँग केही लिनुदिनु छैन ।
सैन्य निर्णय तथा योजना बन्दकोठामा टुंगोमा पुग्छन् । चीनको जस्तो अपारदर्शी र अलोकतान्त्रिक राजनीतिक प्रणालीमा यो कुरा झन् बढी लागू हुन्छ । जासुसी बेलुनहरू खराब विकल्प भए पनि चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीले यिनको प्रयोगबारे निर्णय गर्दा यही नै सही विकल्प मानेको हुन सक्छ । अमेरिकाको मिलिटरी–इन्डस्ट्रियल–पोलिटिक कम्प्लेक्स (सैन्य–औद्योगिक–राजनीतिक गठजोड) ले पनि कहिलेकाहीँ यस्तै गल्ती गर्छ । उसले कागजमा राम्रो देखिने तर वास्तविक संसारमा त्यति राम्ररी काम नगर्ने प्रविधि उत्पादन गर्ने गर्छ । यसको एउटा प्रमाण नौसेनाले प्रयोग गर्ने महँगो तर विनाअर्थको तटीय युद्धक–जहाजलाई हेर्दा नै थाहा हुन्छ ।
बेलुनहरू सन् १७९४ मा फ्रान्सले पहिलोपटक अस्ट्रिया र डच सेनाविरुद्ध जासुसी गर्न प्रयोग गरेदेखि नै निगरानी प्रणालीमा संलग्न भइरहेका छन् । यद्यपि विमानको आगमन र पछि भूउपग्रहको प्रयोगले धेरै सैन्य र गुप्तचर कामका लागि बेलुनको उपयोग हट्दै गयो । हुन पनि उडाइसकेपछि हवाईजहाजजस्तो नियन्त्रणमा नहुने बेलुनको प्रयोग आफैँमा जोखिमपूर्ण हुन्छ । भूउपग्रह यति माथि हुन्छन् कि ती धेरैजसो प्रतिरोधी प्रहारबाट सुरक्षित हुन्छन् ।
अमेरिकी सेना अझै पनि स्थिर, कम उचाइमा बेलुन आफ्नो चौकीवरपर प्रयोग गरे पनि सबैजसो रणनीतिक सूचना संकलनका लागि भूउपग्रह र मानवसहितको वा मानवरहित जासुसी विमानमा भर पर्ने गर्छ । चीनले भने आफ्नो भूमिबाट निकै टाढा रहेको अमेरिकाको जासुसी गर्न स्वच्छन्द उड्ने बेलुन प्रयोग गर्यो । उसले विगतमा डोनाल्ड ट्रम्पको शासनमा कम्तीमा तीनपटक र वर्तमान राष्ट्रपति बाइडेनको कार्यकालमा दुईपटक बेलुन पठाइसकेको छ ।
चीनले भूउपग्रहको अभाव झेलिरहेकाले बेलुन प्रयोग गरेको भने होइन । चीनसँग अहिले ५०० भूउपग्रह छन्, जुन विश्वमा कुनै मुलुकसँग भएकोमध्ये दोस्रो धेरै भूउपग्रह हो । यस मामिलामा अमेरिका तीन हजार चार सय भूउपग्रहका साथ पहिलो स्थानमा छ । कैयौँ चिनियाँ भूउपग्रहले हरेक दिन अमेरिकाको आकाश पार गर्ने गर्छन्, फोटो खिच्छन्, विद्युतीय सिग्नलमार्फत सूचना पठाउँछन् । सम्भवतः चिनियाँ भूउपग्रहले रकेट प्रक्षेपणपछि अमेरिकाको माटोमा रहने इन्फ्रारेड अवशेष पनि खोज्ने गर्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई पनि ऊमाथि निगरानी भइरहेको थाहा छ । यही कारणले गर्दा गत साता दुई सय फिट उचाइको चिनियाँ जासुसी बेलुन अमेरिकी धर्तीबाट ६० हजार फिटको उचाइमा देखिएपछि मिडियामा सनसनी मच्चिरहेको समयमा सेनाले शान्त हुन आग्रह गरेको थियो । ‘हाम्रो प्रक्षेपणले यस बेलुनबाट चीनले प्रयोग गर्दै आएको प्रविधिभन्दा बढी जोखिमपूर्ण सूचना संकलन हुन्छ भन्ने देखाएको छैन,’ वायुसेनाको विमानले दक्षिण क्यारोलिनाको तटमा बेलुन खसाल्नुभन्दा दुई दिनअघि जनरल ग्लेन भानहर्कले एक पत्रकार सम्मेलनमा भनेका थिए । त्यसको दुई दिनपछि दोस्रो बेलुन शुक्रबार अलास्कानजिकै झारियो ।
धेरै उचाइमा उठ्ने बेलुन भूउपग्रहको तुलनामा सस्ता होलान् तर ती न्यून लागतका बेलुनको स्पष्ट दृश्य र जोखिमसामु कत्तिको उपयुक्त हुन्छ, स्पष्ट छैन । सन् १९९० को दशकको प्रारम्भमा नौसैनिक उच्च शिक्षा अध्ययन गर्ने संस्थानमा सेनाका मेजर कर्ट रेटिंगरले निगरानी बेलुनको प्रभाकारितामाथि अध्ययन गरेका थिए । अध्ययनपछि उनले अमेरिकी सेनालाई त्यस्ता बेलुन छोटो मिसनका लागि मात्र प्रयोग गर्न सिफारिस दिए । तीन दिनभन्दा बढी समय उडेपछि बेलुन धेरै टाढा जोखिमपूर्ण स्थानमा पुग्ने उनको अध्ययनले देखाएको थियो ।
कुनै प्रमुख विश्व शक्तिले किन जासुस बेलुन तैनाथ गर्दैनन् भन्ने लगभग स्पष्ट छ । तर, स्पष्ट नभएको विषयचाहिँ के हो भने, ड्रोन र स्याटेलाइटको युगमा चीनजस्तो धनी र शक्तिशाली देशले अमेरिकामा जासुसी बेलुन उडाउने जोखिम किन लियो ? चिनियाँ योजनाकारले ढिलोचाँडो अमेरिकी सेनाले तिनलाई झार्नेछन् भनेर जान्नुपथ्र्यो । यद्यपि, चिनियाँ विदेश नीति अध्येताले के ख्याल राख्नु महत्वपूर्ण हुन्छ भने कुनै पनि अधिनायकवादी शासनले सत्तामा रहन दुइटा काम गर्छ– पहिलो, विदेशमा शक्ति प्रक्षेपण गर्ने र दोस्रो, त्यसलाई देखाएर देशभित्र आफूलाई शक्तिशाली देखाउने । अधिनायकवादी शासनलाई देशभित्र आफूलाई रक्षकको रूपमा प्रस्तुत गर्न बाह्य शत्रुहरू चाहिन्छन् । यस हिसाबमा बेलुनले चिनियाँ अधिकारीले चाहेको लक्ष्य पूरा गरेको पो छ कि ?
(फोब्र्सका स्टाफ लेखक डेभिड एक्स कैयौँ पुस्तकका लेखक हुन्) द न्युयोर्क टाइम्सबाट