मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ फाल्गुण १ सोमबार ०६:४२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई पूरै बिमा रकम भुक्तानी गर्न प्राधिकरणको निर्देशन

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ फाल्गुण १ सोमबार ०६:४२:००

नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारको सम्पूर्ण बिमा रकम भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले आइतबार जीवन बिमा कम्पनीलाई पत्र काट्दै मृतकका आफन्तलाई बिमाबापतको सम्पूर्ण रकम भुक्तानी गर्न निर्देशन दिएको हो । नयाँ पत्रिकाले ‘श्रमिकको शवमा पनि ठगी’ शीर्षकमा गत मंगलबार समाचार प्रकाशन गरेको थियो । 

वैदेशिक रोजगारीमा गएका कामदारले अनिवार्य वैदेशिक 
रोजगार म्यादी जीवन बिमा गर्नुपर्छ । यस्ता कामदारको मृत्यु भए उनका परिवारलाई बिमा रकमबापत १४ लाख भुक्तानी गर्नुपर्ने व्यवस्था बिमा पोलिसीले गरेको छ । तर, कम्पनीहरूले मृतकका आफन्तलाई बिमा रकम भुक्तानी गर्न आनाकानी गर्ने, भुक्तानी रकममध्ये केही कट्टा गरी जबर्जस्ती बिमा गर्न लगाउनेजस्ता गैरकानुनी काम गर्दै आएका छन् ।

सो तथ्य सार्वजनिक भएपछि प्राधिकरणले मृतकका परिवारको सदस्यको जबर्जस्ती बिमा नगर्न तथा गरेको पाइएमा बिमा ऐनबमोजिम कारबाही गरिने व्यहोरासहित पत्र काटेको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बताए । बिमा ऐनबमोजिम कुनै पनि व्यक्तिलाई जबर्जस्ती बिमा गर्न लगाउन पाइँदैन । त्यस्तै, बिमा कम्पनी वा बिमा अभिकर्ताले बिमितलाई गलत जानकारी दिएर पनि बिमा गर्न लगाउन पाइँदैन । यसो गरेमा प्राधिकरणले तोकेबमोजिमको दण्ड वा जरिवाना गर्न सक्ने बिमा ऐन, २०७९ मा उल्लेख गरिएको छ ।

 पीडितलाई सहज भुक्तानी गर्ने जीवन बिमक संघको प्रतिबद्धता
वैदेशिक रोजगारीमा गएका मृतक कामदारका परिवारलाई सहज रूपमा बिमा रकम भुक्तानी गर्न जीवन बिमक संघ प्रतिबद्ध रहेको जनाएको छ । सम्बन्धित व्यक्तिले विनाझन्झट बिमा रकम पाउनुपर्छ भन्ने विषयमा संघ स्पष्ट रहेको सिटिजन्स जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं संघका अध्यक्ष पोषक पौडेलले बताए । ‘यस विषयमा प्राधिकरणले पत्र पनि काटेको छ । संघले सबै जीवन बिमा कम्पनीलाई र सम्बन्धित सबै शाखा प्रमुखलाई बिमा रकम सहज भुक्तानीका लागि निर्देशनसमेत दिइसकेको छ,’ उनले भने । 

केही ठाउँमा बिमा कम्पनीहरूले बदमासी गरिएको गुनासो पनि सुनिएको भन्दै उनले पीडित व्यक्तिले बिमा रकम पाउनैपर्छ भन्ने पक्षमा संघ रहेको बताए । ‘हामीले शाखा कार्यालयलाई पनि बिमाका लागि जबर्जस्ती नगर्न भनेका छौँ । सीधै सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न भनेका छौँ,’ उनले भने । तर, यस्ता व्यक्तिहरूमा आफूले पाउने रकम र सुविधाको विषयमा जानकारीसमेत नहुने गरेको उनले बताए । 

वैदेशिक रोजगारीमा गएका कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगारी म्यादी जीवन बिमा गर्नुपर्छ । कामदारको उमेरका आधारमा बिमाशुल्क भुक्तानी गर्नुपर्छ । १८ देखि ३५ वर्षको उमेरका कामदारले तीन हजार सात सय आठ रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, ३६ देखि ५० वर्ष उमेरका कामदारले चार हजार नौ सय ३१ तथा ५० देखि ६० वर्ष उमेरका कामदारले नौ हजार चार सय ६३ रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको कल्याणकारी कोषमा पनि कामदारले एक हजार पाँच सय जम्मा गर्नुपर्छ । 

१२ लाख ९४ हजारभन्दा बढी म्यादी पोलिसी जारी
जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष ०७९८/७९ को पुस महिनासम्ममा १२ लाख ९४ हजार चार सय ५९ वटा वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गरेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ लाख ५० हजार ६ सय ९० वटा मात्रै पोलिसी जारी भएको नेपाल बिमा प्राधिकरणको तथ्यांंक छ । 

चालू आवको दोस्रो त्रैमास अवधिसम्ममा वैदेशिक रोजगारी बिमामार्फत कम्पनीहरूले एक अर्ब ७१ करोड १९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । पुस महिनामा मात्रै कम्पनीले ६१ हजार ६ सय ५२ पोलिसी जारी गरेका छन् । जसबापत कम्पनीहरूले २७ करोड २४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार १३ वटा जीवन बिमा कम्पनीले मात्रै वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दै आएका छन् । यस्तो खालको बिमामा अधिक जोखिम हुने भएपछि केही कम्पनीहरूको आकर्षण भने घटेको छ । 
समीक्षा अवधिसम्ममा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा यस्तो खालको सक्रिया बिमा पोलिसीको संखया एक लाख ५५ हजार पाँच सय २५ छ । नेपाल लाइफ इन्स्योरेन्स ४७ हजार ६ सय २८ वटा सक्रिय पोलिसी छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनमा एक लाख ८७ हजार पाँच सय ५० पोलिसी सक्रिय छन् । तर, कम्पनीले अहिले भने यस्तो पोलिसी जारी गर्न बन्द गरेको छ । 

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्समा सातवटा, आइएमई लाइफ इन्स्योरेन्समा २१ हजार एक सय तीन, ज्योति लाइफमा ६८ हजार तीन सय ५६, सन नेपाल लाइफ इन्स्योरेन्समा तीन हजार तीन सय ३९, रिलायन्स लाइफ इन्स्योरेनसमा १४ हजार २६, रिलायबल लाइफ इन्स्योरेन्समा चार हजार आठ सय ९५, सिटिजन्स लाइफ इन्स्योरेन्समा ३२ हजार नौ सय ९०, सानिमा लाइफमा ६ लाख ८१ हजार सात सय ८३, प्रभु लाइफमा ७४ हजार दुई सय ७६ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा दुई हजार नौ सय ८१ वटा पोलिसी सक्रिय रहेको प्राधिकरणको तथ्यांक छ । 

यस्तो छ निर्देशन वैदेशिक रोजगारीमा गएका कामदारले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बिमा गर्नुपर्छ । यस्ता कामदारको मृत्यु भए उनका परिवारलाई बिमा रकमबापत १४ लाख भुक्तानी गर्नुपर्ने व्यवस्था बिमा पोलिसीले गरेको छ । तर, कम्पनीहरूले मृतकका आफन्तलाई बिमा रकम भुक्तानी गर्न आनाकानी गर्ने, भुक्तानी रकममध्ये केही कट्टा गरी जबर्जस्ती बिमा गर्न लगाउनेजस्ता गैरकानुनी काम गर्दै आएका छन् ।

सो तथ्य सार्वजनिक भएपछि प्राधिकरणले मृतकका परिवारको सदस्यको जबर्जस्ती बिमा नगर्न तथा गरेको पाइएमा बिमा ऐनबमोजिम कारबाही गरिने व्यहोरासहित पत्र काटेको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बताए । बिमा ऐनबमोजिम कुनै पनि व्यक्तिलाई जबर्जस्ती बिमा गर्न लगाउन पाइँदैन । त्यस्तै, बिमा कम्पनी वा बिमा अभिकर्ताले बिमितलाई गलत जानकारी दिएर पनि बिमा गर्न लगाउन पाइँदैन ।