१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
कोभिड महामारीमा महोत्तरीको जलेश्वर अस्पतालमा ल्याइएका भेन्टिलेटर अहिलेसम्म पनि बेवारिसे छन् । मधेस प्रदेश सरकारले दुई वर्षअघि अस्पताललाई पाँच थान भेन्टिलेटर उपलब्ध गराए पनि दक्ष जनशक्ति अभावमा प्रयोगविहीन बनेका हुन् । तस्बिर : रञ्जन भण्डारी/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२१:oo

महामारीका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीयदेखि पालिकास्तरसम्मका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएका भेन्टिलेटरमध्ये एकतिहाइभन्दा बढी प्रयोगविहीन छन्, तर केही अस्पतालमा भने भेन्टिलेटर नभएर आइसियू सेवा नै प्रभावित बनेको छ

कोभिड महामारीका वेला उपचारका लागि ल्याइएका दुई सय ५३ थान भेन्टिलेटर अहिले विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा प्रयोगविहीन बनेका छन् । महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएका सात सय ४४ मध्ये साढे दुई सयभन्दा धेरै भेन्टिलेटर प्रयोगविहीन भएका हुन् ।

कोभिड संक्रमण उच्च रहेका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीय र प्रादेशिक अस्पताल, मेडिकल कलेज, पालिकास्तरमा रहेका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएको थियो । तीमध्ये केही कोभिडका बिरामी घट्दै जाँदा त केही भवन र जनशक्ति अभावले प्रयोगमा छैनन् । 

विभिन्न कारण देखाएर अधिकांश अस्पतालले करोडौँ मूल्यका भेन्टिलेटर थन्क्याएर राखेका छन् । भेन्टिलेटर मेसिन कतै बिरामी नभएर, कतै जनशक्ति नभएर त कतै भवन नभएर प्रयोगविहीन छन् । 

कोभिड बिरामी उपचारका लागि मात्रै प्रयोगमा ल्याइएका ८० वटा भेन्टिलेटर अहिले विभिन्न अस्पतालमा थन्किएको अवस्थामा छन् । कोभिड उपचारकै लागि पठाइएको नारायणी अस्पतालमा १७, भेरी अस्पतालमा १६, कोसी अस्पतालमा १४, शुक्रराज ट्रपिकल अस्पतालमा आठ, राप्ती प्रादेशिक अस्पतालमा ६, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वटा भेन्टिलेटर मेसिन हाल बन्द छन् ।

यसबाहेक इलाम जिल्ला अस्पतालमा तीन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताल र महाकाली अञ्चल अस्पतालमा दुई–दुईवटा मेसिन बन्द छन् । यस्तै, गौतम बुद्ध अस्पताल, मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सोलखुम्बु जिल्ला अस्पताल, तेह्रथुम जिल्ला अस्पतालमा एक–एकवटा भेन्टिलेटर हाल प्रयोगविहीन छन् । 

जनशक्ति अभावमा समेत आठवटा मेसिन सञ्चालनमा आउन सकेका छैनन् । जसमध्ये मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा चारवटा, बर्दिबास अस्पतालमा तीनवटा र नलागाड गाउँपालिकाको (जाजरकोट) स्वास्थ्य चौकीमा एउटा मेसिन जनशक्ति नहुँदा सञ्चालनमा छैनन् । 

भवन र अन्य उपकरण नहुँदासमेत मेसिन स्टोरमा थन्किएका छन् । जसमध्ये दमक अस्पतालमा सात र प्रादेशिक अस्पताल जनकपुरधाममा तीनवटा मेसिन सञ्चालनमा छैनन् । भवन र अन्य उपकरण नभएकै कारण भक्तपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, मनमोहन मेमोरियल सामुदायिक अस्पताल र सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा दुई–दुईवटा मेसिन र जोगबुडा अस्पतालमा एउटा मेसिन थन्किएका छन् । 

कोभिड महामारीमा दाताको सहयोगमा आएका मेसिन आवश्यकता नै नभएका अस्पतालमा पठाउँदा पनि स्टोरमै थन्किएका छन् । वीर अस्पतालमा आवश्यकताभन्दा बढी ल्याउँदा ५६ वटा भेन्टिलेटर स्टोरमै छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा र भक्तपुर अस्पतालमा दुई–दुईवटा मेसिन स्टोरमा छन् । केही स्वास्थ्य चौकी र अस्पतालमा मर्मत अभाव र अन्य आवश्यक उपकरण नहुँदा पनि करोडौँ मूल्यका भेन्टिलेटर मेसिन स्टोरमा छन् । 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले उच्च संक्रमणका वेला पठाइएका मेसिन संक्रमण दर घटेपछि प्रयोगमा नआएको बताए । ‘कोभिडका बिरामीको चाप नियन्त्रणका लागि दातृ निकायको सहयोग र खरिद प्रक्रियाबाट आवश्यकताभन्दा बढी उपकरण ल्याइयो । अहिले संक्रमण घट्दै जाँदा प्रयोगविहीन हुनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘कतिपय ठाउँमा चाहिनेभन्दा बढी मेसिन अस्पतालमा पुगेका थिए, अहिले थन्किएका पाइएको छ ।’ 

उनका अनुसार महामारी सुरु भएदेखि सञ्चालनमा ल्याइएका चार सय ९१ वटा मेसिन पूर्णतया सञ्चालनमा छन् । आवश्यकताभन्दा बढी भएका र जनशक्ति, भवन र अन्य उपकरण अभावमा सञ्चालनमा आउन नसकेका मेसिनको व्यवस्थापनका लागि तयारी भइरहेको उनले बताए ।

सञ्चालनमा आउन नसकेका भेन्टिलेटर व्यवस्थापनको तयारी हुँदै छ : डा. सुरेन्द्र चौरसिया, प्रमुख व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले उच्च संक्रमणका वेला पठाइएका मेसिन संक्रमण दर घटेपछि प्रयोगमा नआएको बताए । ‘कोभिडका बिरामीको चाप नियन्त्रणका लागि दातृ निकायको सहयोग र खरिद प्रक्रियाबाट आवश्यकताभन्दा बढी उपकरण ल्याइयो । अहिले संक्रमण घट्दै जाँदा धेरै उपकरण प्रयोगविहीन भएका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा चाहिनेभन्दा बढी मेसिन अस्पतालमा पुगेकाले पनि अहिले थन्किएको पाइयो ।’ उनका अनुसार महामारी सुरु भएदेखि सञ्चालनमा ल्याइएका चार सय ९१ मेसिन पूर्णतया सञ्चालनमै छन् । आवश्यकताभन्दा बढी भएका तथा जनशक्ति, भवन र अन्य उपकरण अभावमा सञ्चालनमा आउन नसकेका भेन्टिलेटरको व्यवस्थापनका लागि तयारी भइरहेको उनले बताए ।

ad
ad