
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गरेका प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको, तर त्यसलाई पूरा गर्न थप सात दिन लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले बैठकमा पेश गरेको स्पष्ट पारेका थिए ।
गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र सो मस्यौदा प्रतिनिधिसभामा पेश गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिको म्याद आजै सकिँदै थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।