Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ललितपुरको बुङमतीस्थित निर्माणाधीन रातो मत्स्येन्द्रनाथ मन्दिर । तस्बिर : नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२०७९ माघ २६ बिहीबार ०९:४८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रातो मत्स्येन्द्रनाथ पुनर्निर्माणको आठ वर्ष : अझै २० प्रतिशत काम बाँकी

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ माघ २६ बिहीबार ०९:४८:००

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएकै वर्ष (०७२)मा काठमाडौंको रानीपोखरीबाट पुनर्निर्माण अभियान सुरु गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरबाट पुनर्निर्माण सुरु गरेका थिए । अनेक विवादबीच रानीपोखरी पुनर्निर्माण सम्पन्न भएर एक वर्षअघि तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण सम्पन्न हुन भने अझै एक वर्ष पर्खनुपर्ने भएको छ ।

मन्दिर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ३० प्रतिशत काम गरेपछि छाडिदियो । ठेकेदारले मन्दिर पुनर्निर्माणमा लापरबाही गरेपछि स्थानीयले विरोध जनाएका थिए । सोही कारण मन्दिर पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिमार्फत गराइएको थियो । ठेकेदार कम्पनीले पुनर्निर्माण गरेको ३० प्रतिशत काम भत्काएर समितिले पुनः सुरुदेखि गरेको हो । 

मधुकर तुलाधर, सचिव, उपभोक्ता समिति
सम्पन्न हुन अझै एक वर्ष लाग्छ । पुरातत्व विभागसँग १५ जेठ ०८० मा सक्ने गरी सम्झौता भएको हो । १५ जेठभित्रै सम्पन्न गर्न नसके पनि इँटाको कामचाहिँ सक्छौँ । ०८० सालभित्रै पुनर्निर्माण सक्छौँ । सामान सबै तयार छन् । जेठसम्म इँटाको काम सकिन्छ । फिनिसिङ बाँकी रहला ।

उपभोक्ता समितिका सचिव मधुकर तुलाधरका अनुसार पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको छ । सम्पन्न हुन अझै एक वर्ष लाग्ने उनले बताए । ‘विभागसँग १५ जेठ ०८० मा सक्ने गरी सम्झौता भएको छ । १५ जेठभित्रै सम्पन्न गर्न नसके पनि इँटाको कामचाहिँ सक्छौँ । ०८० सालभित्रै पुनर्निर्माण सक्छौँ,’ सचिव तुलाधरले भने, ‘सबै सामान तयार छन् । यसलाई मन्दिरको आकारमा ढाल्न मात्र बाँकी छ । जेठसम्म इँटाको काम सकिन्छ । फिनिसिङको केही काम बाँकी रहला ।’

रातो मत्स्येन्द्रनाथ पुनर्निर्माण यसकारण ढिलो 
रातो मत्स्येन्द्रनाथ पुनर्निर्माण केही समय विवादमा फस्यो । ठेकेदार कम्पनी प्रेरा भेगिम, थेगिस र तुलसी कन्स्ट्रक्सन जेभीले पुनर्निर्माणमा लापरबाही गरेको भन्दै बुङमतीवासी विरोधमा उत्रिए । ‘ठेकेदारलाई मन्दिर निर्माणसम्बन्धी अनुभव नै थिएन । मन्दिरभित्रको स्पेसमा देवता राखेर पूजा गर्न ठाउँ नै पुग्ने अवस्था थिएन । ढोकामा भेन्टिलेसन पनि थिएन । पर्खाल वर्गाकार हुनुपथ्र्याे । मन्दिर नै ढल्किने गरी बनाइएको थियो,’ तुलाधरले भने, ‘ठेकेदारले ठेक्का लिएर दुई–तीन वर्ष त्यसै झुलाइदियो । काम पनि बिगार्‍यो । उक्त ठेक्का रद्द गरेर उपभोक्तामार्फत काम गर्ने निर्णय भयो ।’ ठेकेदार कम्पनीले दुई वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने गरी करिब पाँच करोडमा ठेक्का पाएको थियो ।

नौ सदस्यीय उपभोक्ता समितिले रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षण कार्यको बाँकी पूरा गर्ने भनेर तत्कालीन प्राधिकरणको १४ पुस ०७६ मा बसेको कार्यकारी समितिको बैठकले निर्णय गर्‍यो । सोहीअनुसार १५ असार ०७७ मा समितिसँग एक वर्षमा सम्पन्न गर्ने भनेर सम्झौता भयो । तर, एक वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने मिति गत वर्ष नै सकिइसक्यो । सम्झौताअनुसारको मितिमा काम सम्पन्न गर्न नसकेपछि समितिलाई आगामी जेठसम्म काम सक्नुपर्ने गरी समय थप भएको छ । ‘हामीले सुरुमै भनेका थियौँ । समय थप पनि हुन सक्छ भनेरै सुरु गरेका हौँ,’ सचिव तुलाधरले भने ।

मत्स्येन्द्रनाथको मन्दिरमा ५० थरीका इँटा प्रयोग 
शिखर शैलीको यो मन्दिर बनाउन समितिले करिब ५० किसिमका इँटा प्रयोग गरेको छ । इँटाको जोडाइका लागि सुर्की र काठ प्रयोग गरेको छ । हाल मन्दिर पुनर्निर्माणका लागि सबै सामान जोडिसकेको समितिले ती सामानको आकार बनाउन मात्र बाँकी छ । ‘शिखर शैलीको यो महत्वपूर्ण मन्दिर हो । यसमा इँटा मात्र ४० देखि ५० साइजका प्रयोग भएका छन् । त्यति नै प्रकारका डिजाइन बनाउनुपरेको छ । यहाँ प्रयोग भएका इँटा हातैले बनाउनुपर्छ । इँटा बनाउने काम सकिएको छ । सुक्न र पाक्न बाँकी छ,’ सचिव तुलाधरले भने । 

तीन करोड आठ लाखमा लागतमा पुनर्निर्माण भइरहेको समितिले लागत बढ्ने अनुमान गरेको छ । पुनर्निर्माणका लागि समितिले दुई करोड रकम खर्च गरिसकेको छ । सचिव तुलाधरका अनुसार काम सम्पन्न भइनसकेको र कामअनुसार लागत इस्टिमेट गर्नु भनेर पुरातत्वमा निवेदनमा दिइएको छ । उनले भने, ‘लागतचाहिँ बढ्नेवाला छ । लागत कसरी व्यहोर्ने भन्ने स्थानीय सरकार र केन्द्र सरकारसँग कुरा गर्छाैँ ।’ मन्दिर पुनर्निर्माणका लागि समितिले काठ, इँटा बनाउन बुङमतीकै स्थानीयलाई लगाइएको छ । भक्तपुरबाट आएका कामदारले पर्खाल लगाउने काम गरिरहेका छन् । मन्दिर भत्किएपछि मूर्तिलाई अस्थायी मन्दिर निर्माण गरी राख्न थालिएको छ । ६ महिना पाटन र ६ महिना बुङमतीमा रहने मूर्ति हाल पाटनमा छ । यो मन्दिर १४ सय वर्ष पुरानो भएको इतिहास छ ।