
निमोनियाका कारण बालबालिकाहरू विशेषगरी प्रभावित हुने गरेका छन् । विश्वमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । त्यही कारण हामीले जाडोयाममा बच्चालाई चिसोबाट जोगाउनुपर्छ । बिहान–बेलुकी सकेसम्म बाहिर नपठाउने, पठाउनै परेको अवस्थामा चिसोबाट बच्ने गरी न्यानो कपडा लगाइदिने गर्नुपर्छ ।
बच्चालाई प्रदूषित ठाउँमा जान दिन हुँदैन । खाना खानअघि हात धोइदिनुपर्छ । झोलिलो पदार्थ पटक–पटक खुवाउनुपर्छ । खोकी लागेका वेला पानी उमालेर मनतातो बनाएर पिउन दिनुपर्छ । सास छिटो–छिटो फेर्ने, खान मन नगर्ने, लामो समयसम्म ज्वरो आउनेलगायत समस्या देखिए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
नवजात शिशुका हकमा ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । ६ महिनापछि आमाको दूधसँगै अन्य पौष्टिक तत्वसमेत खुवाउनुपर्छ । सरकारले बालबालिकालाई दिने भनेर निर्धारण गरेका सबै खोप अनिवार्य लगाइदिनुपर्छ, यसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।
निमोनियाको जोखिम रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा ज्यादा हुन्छ । बालबालिकासँगै वृद्धवृद्धा तथा तथा दीर्घरोगीहरूको प्रतिरोधी क्षमता कम हुन्छ । चुरोट खाने, धुवाँधुलोमा काम गर्ने व्यक्तिहरू पनि निमोनियाको जोखिममा हुन्छन् । त्यस्ता व्यक्तिको फोक्सोमा ‘सेल्फ क्लियरेन्स मेकानिजम ह्याम्पर’ हुन्छ । भित्रभित्रै फोक्सो ड्यामेज हुन सक्छ ।
कसरी हुन्छ ?
कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ । जाडो समयमा पानी कम पर्छ र धुलो धेरै उड्छ । त्यही कारण प्रदूषण धेरै हुन्छ । सावधानी अपनाइएन भने धुलोको असर फोक्सोमा पर्न सक्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ । त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरू सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्वायर, भेन्टिलेटर एसोसिएटेट निमोनियालगायत निमोनियाका धेरै प्रकार हुन्छन् ।
लक्षण
- खोकी लाग्ने ।
- बाक्लो र पहेँलो खकार आउने ।
- उच्च ज्वरो आउने ।
- कामज्वरो आएको महसुस हुने ।
- सास फेर्न गाह्रो हुने ।
- श्वासप्रश्वास छिटो–छिटो चल्ने ।
- अक्सिजनको मात्रा कम हुने ।
- छाती घ्यारघ्यार हुने ।
- कमजोर र थकित महसुस हुने ।
- बेचैनी महसुस हुने ।
बच्ने उपाय
- न्यानो भएर बस्ने, न्यानो कपडा लगाउने ।
- स्टिम लिने ।
- मनतातो पानीले मुख कुल्ला गर्ने ।
- खानपानमा ध्यान दिने ।
- चिसो चिज नखाने ।
- कुनै खानाको एलर्जी छ भने त्यस्ता खानेकुरा नखाने ।
- बर्सेनि रुघाखोकीको खोप लगाउने ।
- निमोनियाको खोप लगाउने (यो खोप पाँच वर्षमा एकपटक लगाइन्छ)
- धूम्रपान नगर्ने ।
- थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।