
भारतको नयाँदिल्लीमा १३ देखि २७ मार्चमा हुन आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनोट भएका छन् ।
छनोट प्रतियोगिताको मंगलबार भएको ५२ केजी तौलसमूहको फाइनलमा अन्जनीले टिएसीकी वर्षा श्रेष्ठलाई ५–० आधारमा हराउँदै च्याम्पियनसिपमा स्थान पक्का गरेकी हुन् । यसैगरी, मिनुले एपिएफकी शर्मिला तामाङलाई ५–० अंकको अन्तरमा हराइन् । सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट खेलमा ५० केजी तौलसमूहको क्वार्टरफाइनलमा रमिसा श्रेष्ठ (आरडिएस) र आरती बम्जन (टिएसी) विजयी भएका थिए ।
रमिसाले एनपिसीका रिता धरलालाई ४–१ ले हराइन् । आरतीले झापाकी तेजिमाया गुरुङलाई ५–० अंकका आधारमा हराउँदै सेमिफाइनल स्थान पक्का गरेकी थिइन् । प्रतियोगिताको ५७ केजी तौलसमूहको सेमिफाइनलमा झापाकी खेलाडी सुस्मिता राईले एनपिसीकी निशा तामाङलाई ३–२ को अन्तरमा पाखा लगाउँदै फाइनल स्थान पक्का गरिन् । त्यसैगरी, ७५ केजी तौलसमूहमा एपिएफकी खेलाडी सरस्वती रानामगरले टिएसीकी खेलाडी अनुपा चौधरीलाई एबिडीका आधारमा निराश पारिन् ।