१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ माघ २५ बुधबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकैपटक नौ महिला सिडिओ

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ माघ २५ बुधबार ०६:२०:००

ओखलढुंगामा खटाइएकी प्रदर्शनी कुमारी मधेसी समुदायबाट पहिलो महिला सिडिओ

एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ । 

गृह मन्त्रालयका अनुसार चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । उनीहरू सबै उपसचिव हुन् ।

धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उनीहरू सहसचिव हुन् । 

आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको छ । ताप्लेजुङले पहिलोपटक महिला सिडिओ पाएको छ । यही १८ माघमा चेम्जोङ सिडिओ बनेर जिल्ला पुगेकी हुन् । जिल्लामा हालसम्म ४७ जना सिडिओ बनेर आइसकेका छन् । त्यसमा उनी पहिलो महिला सिडिओ हुन् । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ थिइन् । 

धनकुटाले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । यसअघि रामेछापमा सिडिओ भइसकेकी लीलाकुमारी केसी पाण्डे गृह मन्त्रालयले खटाएपछि अघिल्लो सोमबार धनकुटा पुगेकी हुन् । 

मनाङले पनि पहिलोपटक महिला सिडिओ पाएको छ । त्यहाँ सुभद्रा खनाल ढुंगेल सिडिओ छिन् । उनी गत १२ माघमा मनाङको सिडिओ बनेर गएकी हुन् । 

सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुगेकी छिन् । उनी यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत छिन् । यसअघि भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत थिइन् । काभ्रेमा पनि सिडिओ हुने उनी पहिलो महिला थिइन् । 

सिन्धुलीले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । त्यहाँ यही १६ माघदेखि सिडिओका रूपमा सुनिता नेपाल कार्यरत छिन् । उनी यसअघि प्युठानमा सिडिओ थिइन् । प्युठानमा पनि उनी पहिलो महिला सिडिओ थिइन् । 

सहसचिव रोशनी श्रेष्ठ बाग्लुङको सिडिओ बनेर जाँदै छिन् । यसको निर्णय गृह मन्त्रालयले आइतबार गरिसकेको छ । बाग्लुङमा हालसम्म महिला सिडिओ छैनन् । श्रेष्ठ पहिलो महिला सिडिओ बन्दै छिन् । 

अर्घाखाँचीमा पनि पहिलो महिला सिडिओ कार्यरत छिन् । अर्याल यही १२ माघदेखि सिडिओ कार्यरत छिन् । डोटीमा पनि पहिलोपटक महिला सिडिओका रूपमा कल्पना श्रेष्ठ कार्यरत छिन् । उनी गत ६ असारदेखि डोटीमा हाजिर भएकी हुन् । 

११ माघ ओखलढुंगामा सिडिओ पोस्टिङ भएकी प्रदर्शनी कुमारी पहिलोपटक सिडिओ बनेकी हुन् । जिल्लामा मधेसी समुदायबाट महिला सिडिओ हुने उनी पहिलो हुन् । उनी बाराकी हुन् । 

हुमकला पाण्डे, सिडिओ, सुनसरी 
यसअघि कार्यरत काभ्रेपलाञ्चोक जिल्लाको ५० वर्षको इतिहासमा म पहिलो महिला सिडिओ थिएँ । भर्खर आएको सुनसरीमा पनि म पहिलो महिला सिडिओ हुँ । महिला सिडिओ पाउँदा जिल्लावासी उत्साहित भएको मेरो अनुभव छ । महिला भएर पनि सिडिओ बनेर देखाएको र तुलनात्मक रूपमा इमानदार भएर काम गरेको भन्नेजस्ता प्रतिक्रिया  पाएको छु । महिलाहरूले पनि महिला सिडिओ पाउँदा आफ्ना कुरा खुलस्त राख्ने गरेको मैले पाएको छु । महिला, बालबालिका र दुःखमा परेकाले महिला सिडिओ पाउँदा सहज अनुभूति गर्दा रहेछन् । जिल्ला प्रशासन र अन्य कार्यालयका महिलाले पनि गर्वको अनुभूति गर्दा रहेछन् । पछिल्लो समय गृह मन्त्रालयले पनि मापदण्ड तथा योग्यता पुग्ने महिलालाई सिडिओमा जान खोजेको खण्डमा प्राथमिकता पनि दिएको छ । 

यमकुमारी खतिवडा, पूर्वसचिव  

पदका हिसाबमा महिला र पुरुषमा फरक होइन । एउटै प्रक्रिया र मापदण्ड पूरा गरेर जाने हो । पदमा पुग्न सक्षम र योग्य हुनैपर्छ । महिला प्रतिनिधित्व बढ्नु खुसीको कुरा हो । योग्यता र क्षमताका हिसाबले पनि महिला पुरुषभन्दा कमजोर छैनन् । भूमिका पाउँदा पुरुषले भन्दा प्रभावकारी तरिकाले काम गर्न सक्छन् । निर्णय, कामको प्रभावकारिता र सेवाप्रवाहमा नागरिकले पाउने सन्तुष्टिका हिसाबले पुरुषको तुलनामा महिलाले राम्रो कार्यसम्पादन गर्न सक्छन् । किनभने महिलाहरू व्यावहारिक र संवेदनशील हुन्छन् । लैंगिक, बालबालिका र पीडामा परेकाप्रति पनि महिलाले सहानुभूतिको अनुभव गर्छन्, यसले तिनका समस्या समाधानमा सहयोग पुग्छ । सुशासनका दृष्टिले पनि महिला पारदर्शी र जवाफदेही हुन्छन् । यी विषय अध्ययनले पनि पुष्टि गरेका छन् । 

जितेन्द्र बस्नेत, प्रवक्ता, गृह मन्त्रालय 

उहाँहरू लामो समय मन्त्रालय, विभागतिर हुनुहुन्थ्यो । मापदण्ड पुगेका र सक्षम महिला पनि सिडिओ बन्न सक्नुहुन्छ । पछिल्लो समय मन्त्रालयले सिडिओमा महिलाको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्न खोजेको छ । यसले ‘जब रोटेसन’ र फरक अनुभव मात्र होइन महिलाहरूको नेतृत्व विकास र लैंगिक समानतामा पनि सहयोग पुग्छ ।

०४७ मा पहिलोपटक महिला सिडिओ बनेकी थिइन् उषा नेपाल

सिडिओमा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, ३२ वर्षअघि नै सिडिओ बनिसकेकी थिइन्, उषा नेपाल । बहुदलपछि ०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन् । सिडिओमा महिलाको प्रतिनिधित्व भएको यो पहिलोपटक थियो । उनी ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङसमेतको प्रमुख जिल्ला अधिकारी भइन् । निजामती सेवाबाट सेवानिवृत्तपछि उनी निर्वाचन आयोगको आयुक्तसमेत नियुक्त भएकी थिइन् । उनी २३ कात्तिक ०६३ देखि १६ माघ ०६५ सम्म निर्वाचन आयुक्त थिइन् ।