
सुक्खा मौसम लम्बिएर खोलामा पानीको वहाब घट्दा आन्तरिक विद्युत् उत्पादन पनि अत्यधिक प्रभावित भएको छ । नेपालमा विद्युत्को कुल जडित क्षमता झन्डै २५ सय मेगावाटनजिक छ । तर, खोलामा पानी घट्दा पछिल्लो समय विद्युत् उत्पादन एक हजार मेगावाटभन्दा पनि कम हुन थालेको छ । विद्युत् प्राधिकरणका अनुसार गत शनिबार आन्तरिक विद्युत् उत्पादन नौ सय १५ मेगावाट मात्रै देखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष हिउँदे विद्युत्को उत्पादन २० प्रतिशत घटेको बताए । गत वर्ष हिउँदमा विद्युत्को कुल जडित क्षमता दुई हजार ५३ मेगावाट भए पनि विद्युत् उत्पादन न्यूनतम पनि एक हजार दुई सय मेगावाट हुन्थ्यो । यो वर्ष विद्युत्को कुल जक्षित क्षमता बढेर २५ सय मेगावाट पुगेको छ । तर, विद्युत् उत्पादन भने नौ सय १५ मेगावाटमा झरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
‘गत वर्ष तुलनामा अहिले विद्युत्को जडित क्षमता बढे्को छ । तर, हिउँदको विद्युत् उत्पादन भने गत वर्षको भन्दा पनि कम छ,’ घिसिङले भने, ‘यकिन तथ्यांक त तयार भइसकेको छैन । तर, गत वर्षको हिउँदको तुलनामा अहिलेको विद्युत् उत्पादन २० प्रतिशत हाराहारीले घटेको छ ।’
पिक आवरमा कुलेखानी जलाशय, अपर तामाकोसी, कालीगण्डकी, मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजना सञ्चालन गर्दा नौ सय मेगावाटसम्म विद्युत् उत्पादन भएको हो । अन्य समयमा त विद्युत् उत्पादन अझ कम रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार गत शनिबार कुल विद्युत् उत्पादन १६ हजार पाँच सय ७१ मेगावाट आवर (औसत ६ सय ९० मेगावाट) मात्रै रहेको छ ।
किन घट्यो विद्युत् उत्पादन ?
हिउँदमा नेपालको विद्युत् उत्पादन कम हुनु स्वाभाविक हो । किनकि, नेपालमा विद्युत्को स्रोत जलविद्युत् आयोजना हो । त्यसमाथि पनि अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यस अवस्थामा बर्सातमा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ, जुनवेला आन्तरिक माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्छ ।
गत वर्षहरूमा हिउँदमा पनि अकासे पानी पथ्र्याे । फलस्वरूप खोलामा पानी सतह उच्च मात्रामा घट्ने थिएन । साथै, हिमालसहित अग्ला पहाडहरूमा हिउँ पनि पथ्र्याे । अग्ला पहाड तथा तल्लो हिमाली क्षेत्रका हिउँ केही दिनमै पग्लिहाल्थे । त्यसले पनि खोलामा पानीको सतह बढाउन मद्दत पुग्थ्यो । फलस्वरूप विद्युत् उत्पादन पनि बढी हुन्थ्यो । तर, यसपालि हिउँदमा पानी र हिउँ परेको छैन, फलस्वरूप विद्युत् उत्पादनमा घटेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।
‘यसपालि न पानी परेको छ, न हिउँ नै । हिउँ पर्ने डाँडाहरू पनि नांगै छन् । पलस्वरूप खोलामा पानीको सतह बढ्न सकेको छैन,’ उनले भने, ‘फलस्वरूप विद्युत् उत्पादन घट्न गएको छ ।’
औद्योगिक क्षेत्रमा विद्युत् कटौती कायमै
विद्युत् अभाव भएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती पनि कायमै राखिएको छ । भैरहवा, वीरगन्जलगायतका औद्योगिक क्षेत्रमा बिहान–बेलुकाको पिक आवरमा तीन–तीन घन्टा विद्युत् कटौती गरिएको छ । कार्यकारी निर्देशक घिसिङले विद्युत्को अभाव भएपछि केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती कायमै राखिएको बताए । ‘आन्तरिक उत्पादन नमज्जाले घटेको छ । चाहिने विद्युत् भारतबाट आयात गरौँ भने पनि प्रसारण लाइनको क्षमता धान्दैन,’ उनले भने, ‘फलस्वरूप औद्योगिक क्षेत्रमा पिक आवरमा विद्युत् कटौती गर्दै आएका छौँ ।’
आयात पाँच सय मेगावाटनजिक
आन्तरिक विद्युत् उत्पादन घटेपछि आयात गरिने विद्युत् पनि बढेको छ । गत शनिबार साँझको पिक आवरमा चार सय ७७ मेगावाट विद्युत् भारतबाट आयात गरिएको छ । प्राधिकरणका अनुसार पछिल्लो समय भारतबाट दैनिक १० हजार पाँच सय ३३ मेगावाट आवर (औसत चार सय ३९ मेगावाट) विद्युत् आयात भइरहेको छ, जुन बर्सातमा नेपालले भारतमा निर्यात गरेको बिजुलीभन्दा पनि बढी हो । प्राधिकरणले गएको बर्सातमा भारतमा चार सय मेगावाट हाराहारी विद्युत् निर्यात गरेको थियो ।
नेपाल र भारतको विद्युत् व्यापारमा लामो समयदेखि घाटामा छ । निर्यात गरिनेभन्दा आयात गरिने बिजुली नै बढी हुने गर्छ । यो वर्ष भने आयात गरिनेभन्दा निर्यात गर्ने बिजुली बढी हुने अनुमान गरिएको थियो । तर, आन्तरिक उत्पादन घटेपछि त्यसमा चुनौती देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
माग १७ सय मेगावाट, आपूर्ति १४ सय मेगावट
सामान्यता नेपालमा विद्युत्को अधिकतम माग १७ सय मेगावाट हाराहारी छ । उद्योग सञ्चालन गर्न, घरायसी प्रयोगलगायत अहिले पनि सोबराबरको विद्युत् आवश्यक पर्छ । तर, अहिले १४ सय मेगावाट हाराहारी विद्युत् मात्रै आपूर्ति भइरहेको छ । फलस्वरूप औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।
चैत–वैशाखमा पनि विद्युत् उत्पादन प्रभावित हुने
हिउँदमा हिउँ नपरेपछि आगामी चैत–वैशाखको विद्युत् उत्पादनसमेत प्रभावित हुने आकलन गरिएको छ । हिउँदमा पर्ने हिउँ चैत–वैशाखको गर्मीले पग्लिन्छ । त्यसवेला गर्मी सिजन भए पनि पग्लिएको हिउँका कारण खोलामा पानीको सतह बढी हुन्छ । फलस्वरूप विद्युत् उत्पादन बढी हुन्छ । तर, यसपालि हिउँ नपर्दा चैत–वैशाखको विद्युत् उत्पादन पनि प्रभावित हुने आकलन विद्युत् प्राधिकरणले गरेको छ ।