१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुना कुँवर काठमाडाैं
सौरभ यादव सप्तरी
२०७९ माघ २४ मंगलबार ०६:१४:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रमिकको शवमा पनि ठगी

Read Time : > 7 मिनेट
२०७९ माघ २४ मंगलबार ०६:१४:००

विदेशमा पसिना बगाएर देश चलाउन ‘रेमिट्यान्स’ पठाउने श्रमिक वैदेशिक रोजगारीमा जाँदा मात्रै ठगिँदैनन्, रोजगारीका क्रममा ज्यान गुमाएकाको शवमाथि पनि दलालहरूले गिद्धेदृष्टि राख्छन्, मृतकका परिवारले पाउने सहायता रकममा दलालले कमिसन खाने र बिमाबापतको रकममा बिमा कम्पनीले ठगी गर्छन्

वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल

पति गंगाबहादुरको मृत्युपछि वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकम उपलब्ध गराइदिने भन्दै दलालहरूले रविनालाई काठमाडौं ल्याए । बोर्डबाट पाउने सात लाखबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख कमिसन खाने उनीहरूको योजना थियो । सबै तयारी साथ उनीहरूले रविनालाई खाता खोल्न बैंकसम्म पनि पुर्‍याइसकेका थिए । तर, त्यही वेला आएको एउटा फोनमा ती व्यक्तिहरू दलाल भएको र ठग्न खोजेको सूचना पाएपछि उनी खाता नखोली उम्किएर घर फर्किन् ।

साउदीमा ज्यान गुमाएका सप्तरी धनगढीका जितेन्द्र मण्डलकी श्रीमती अनितामाथि बिमा कम्पनीको ठगी : १४ लाख पाउनुपर्ने, आठ लाख ७० हजार मात्र भुक्तानी

दुई वर्षअघि छरछिमेकसँग ऋण लिएर उहाँ वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । परिवारको एक मात्र आर्थिक आधार उहाँ नै हुनुहुन्थ्यो । तर, २१ मंसिर ०७८ मा दुई चिचिला छोराछोरी र मलाई एक्लो बनाएर उहाँ जानुभयो, परदेशमै निधन भयो । वैदेशिक रोजगारीको प्रक्रियाअनुसार उहाँले सिटिजन्स इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगारी म्यादी जीवन बिमा गर्नुभएको थियो । उहाँको मृत्युपछि बिमा कम्पनीबाट पाउनुपर्ने १४ लाख माग गर्न कन्चनरूप शाखा कार्यालयमा पुगेँ । तर, कम्पनीका हाकिमले हरेकपटक कागजात पुगेन भन्दै फर्काइदिए । ११औँपटकमा कम्पनीले आठ लाख ७० हजारको मात्रै चेक दियो । १४ लाखमा पाँच लाख ३० हजार काटेको छ । पूरै पैसा दिनुस् भन्दा बिमाका कर्मचारीले मानेनन् । बाँकी पैसा बिमा कम्पनीले केका लागि काटेको भन्ने मलाई थाहा छैन । कम्पनीले मेरो बिमा गरिदिएको बताए पनि कुनै प्रमाण दिएको छैन । गरिदिएकै भए पनि मेरो इच्छाविपरीत गर्न पाइन्छ र ?

...                                                    ...

रोजगारीका लागि कुवेत गएका दाङको घोराही उपमहानगरपालिका– १३ सेवारका २६ वर्षीय गंगाबहादुर घर्तीमगर गत साउनमा कम्पनीले दिएको छुट्टीमा घर आएका थिए । २७ साउनको राति खाना खाएर सुतेका उनी बिहान उठेनन् । नौ महिनाको छोरा र २१ वर्षीया श्रीमती रविनालाई छाडेर उनी सधैँका लागि बिदा भए । 

श्रीमानकाे अन्तिम संस्कारको काम सकेपछि रविना संघर्षका पहाड सम्झिएर सुस्ताउँदै थिइन् । असोजको अन्तिमतिर दुई अपरिचित उनको घरमै पुगे । उनीहरूले रविनालाई गंगाबहादुरले सरकारबाट सहायता रकम पाउने सुनाए । कमाइ गरेर पाल्ने श्रीमान्को देहावसान भए पनि उनकै नाममा सरकारबाट आर्थिक सहयोग पाउने सुनेर रविनालाई केही राहत महसुस भयो । ती व्यक्तिले सहायता प्राप्त गर्न काठमाडौं जानुपर्ने पनि बताए । रविना दुई दाइ र जेठानीसमेत साथमा लिएर काठमाडौं आइन् । काठमाडौं आएपछि ती दुई व्यक्तिले ‘वैदेशिक रोजगार बोर्डले दिने सात लाख रुपैयाँबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख आफूहरूलाई दिनुपर्ने’ प्रस्ताव राखेको रविनाले बताइन् । 

भोलिपल्ट दलालहरूसँगै रविना वैदेशिक रोजगार बोर्ड पुगिन् । बोर्डले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पठायो, नयाँ बानेश्वरस्थित बैंकको शाखामा पुगिन् । त्यही वेला उनलाई ‘सामी कार्यक्रम’ दाङकी संयोजक बसान्ता पुनको फोन आयो । रविनालाई दलालहरूले फसाउन लागेको सूचना पाएकी बसान्ताले त्यसबारे जानकारी गराउँदै तुरुन्त दाङ फर्किन सल्लाह दिइन् । 

‘बसान्ताको फोनपछि छाँगाबाट खसेझैँ भएँ । कतै दलालले ज्यान नै लिने पो हो कि भन्ने पनि डर लाग्यो,’ रविनाले भनिन्, ‘तर, उनीहरूसँग तत्काल कुनै प्रतिक्रिया नजनाई उम्किने सोच बनाएँ ।’ त्यसपछि उनले खाता खोल्न आनाकानी गरिन् । होटेलमा कागजपत्र छोडिएको बहाना बनाएर होटेल फर्किने निधो गरिन् । तर, उनी चढेको गाडीमा दलालहरू पनि चढे । ‘होटेलसम्म पुग्दा उनीहरूले पिछा गरे । होटेलको आफ्नो कोठामा छिरेपछि बाहिर निस्किनँ । उनीहरूलाई विभिन्न बहाना बनाउँदै आलटाल गरेँ,’ रविनाले घटनाबारे सुनाइन्, ‘भोलिपल्ट दाङ फर्किएँ ।’ 

दलालको पन्जाबाट उम्किएकी रविनाले ‘सामी कार्यक्रम’को सहयोगमा वैदेशिक रोजगार बोर्डबाट सात लाख पाइसकेकी छिन् । नेसनल लाइफ इन्स्योरेन्सबाट पाउनुपर्ने १४ लाखका लागि भने दाबीसहित कागजपत्र पेस गरेकी छिन् । ‘विमाको लागि कात्तिकमै कागजपत्र बुझाएको हो, तर अहिलेसम्म पैसा पाएको छैन,’ उनले भनिन् । 

पतीवियोगमा पर्नुभन्दा नौ महिनाअघि नै ससुरा गुमाएकी रविनाले श्रीमान्को मृत्युको चार महिनापछि सासु पनि गुमाइन् । उनीसँग केबल काखे छोरो मात्रै छन् । माटो र ढुंगाको गारो भएको भत्किन लागेको घरमा उनीहरू बस्दै आएका छन् । 

वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको परिवारले वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकममा दलालहरूले कसरी ठगी गर्छन् वा प्रयास गर्छन् भन्ने रविना एक उदाहरण मात्रै हुन् । यस्ता दर्जनौँ पीडित छन् । मृत्यु भएकाको परिवारले पाउने क्षतिपूर्तिमा बाह्य दलाल मात्रै होइन, बिमा कम्पनीकै पनि दलाली चलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्धीका ३५ वर्षीय मोस्तकिम नदाफ कतार गएको दुई महिनामै गत १३ असोजमा सडक दुर्घटनामा ज्यान गुमाए । वैदेशिक रोजगार बोर्डले उनको शव एक साताभित्रै परिवारलाई बुझायो । बोर्डबाट पाउने सहायता रकम पनि परिवारले पायो । तर, नदाफले म्यादी जीवन बिमा गरेको सूर्या–ज्योति लाइफ इन्स्योरेन्सले भने रकम भुक्तानीका लागि कमिसन मागेर निकै दुःख दियो । 

‘शोकमै रहँदा ऋण लिएको पैसा माग्न साहुमहाजनहरू आउन थाले । त्यसपछि बिमाको रकम निकाल्ने प्रक्रियामा लागेँ । स्थानीय तहको सिफारिसदेखि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कागजी प्रक्रिया सकेर बिमाबापतको १४ लाख दाबी गर्न सूर्या–ज्योति लाइफ इन्स्योरेन्सको जनकपुरस्थित शाखा कार्यालय पुगेँ । तर, पैसा दिनुको सट्टा, पाँच लाखको जीवन बिमा गर्न दबाब दियो । फकाउनेदेखि धम्क्याउनेसम्म गरे,’ मोस्तकिमकी श्रीमती २७ वर्षीया गुलसन खातुनले भनिन्, ‘दुई महिना दौडधुप गर्दा पनि पैसा नदिएपछि गाउँसमाजका अगुवा व्यक्ति र सञ्चारकर्मी लिएर गएँ । त्यसपछि बल्ल बिमाको रकम पाएँ ।’ नदाफले कतार जाँदा चार लाख ऋण लिएका थिए । त्यसभन्दा अघिदेखिको समेत जोडेर अहिले पनि खातुनको थाप्लोमा २० लाख ऋण थियो । बिमाको रकम पाएपछि केही राहत मिलेको उनले बताइन् । उनका दुई छोरा र एक छोरी छन् । 

धनुषाकै छेदु मण्डलका दाजु दीपेन्द्र मण्डलले पनि बिमा कम्पनीले आफूलाई हैरानी दिएको गुनासो गरे । वैदेशिक रोजगारीका लागि मलेसिया गएका छेदुको मृत्यु भएपछि बिमाबापतको रकम माग्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच लाख ठग्न खोजेको दीपेन्द्रले बताए । बल्लतल्ल सबै पैसा उठाएका उनले भने, ‘मलेसिया जाँदा भाइको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा भएको थियो । उसको मृत्युपछि बिमाको रकम माग्दा पाँच लाख रुपैयाँ कम्पनीमै राख्न दबाब दिइयो । तर, कुनै हालतमा पनि पूरै पैसा चाहिने अडान लिएपछि बल्लतल्ल पूरै रकम पाइयो ।’ 

सप्तरीको बोदेबर्साइन नगरपालिका– १, धनगढीका जितेन्द्र मण्डल दुई वर्षअघि छरछिमेकसँग ऋण लिएर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । दुई छोराछोरी र श्रीमतीको गुजाराका लागि साउदी हानिएका मण्डलले धेरथोर कमाइ गरेर घर पठाउँदा परिवारमा दुःखको बादल फाट्दै थियो । तर, २१ मंसिर ०७८ मा साउदीबाट उनको मृत्युको अप्रिय खबर आएपछि परिवारको खुसीमा फेरि बादल मडारियो । एक महिनापछि जितेन्द्रको शव बाकसमा घर आइपुग्यो । 

मृत्यु भएका श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने सुविधाबारे उनका दाजु दुर्गानन्दलाई थाहा थियो । उनी बिमाको रकम लिन सिटिजन्स इन्स्योरेन्स कम्पनी पुगे । कम्पनीले कञ्चनरुप शाखाबाट नै रकम भुक्तानी गरिदिने भयो । रकम लिन दुर्गानन्द सम्बन्धित शाखा कार्यालय पुगे, तर शाखा प्रमुखले भने पूरै रकम भुक्तानी गर्न नमिल्ने जवाफ दिए । ‘बिमा कम्पनीका शाखा प्रमुखले रकम लिन सिटिजन्स बैंकमा खाता खोल्न भने, बैकमा खाता खोलेँ,’ उनले भने, ‘तर, साढे पाँच लाख रुपैयाँ कटाएर बाँकी रकमको चेक दिए ।’ पूरै १४ लाख चाहिने अडान लिँदै चेक अस्वीकार गरेको उनले बताए ।

सिलसिलामा दुर्गानन्द भारत गए । सोही क्रममा बुहारी अनिता (मृतक जितेन्द्रकी श्रीमती)लाई बोलाएर इन्स्योरेन्सका शाखा प्रमुखले चेक थमाए । बिमा कम्पनीले आठ लाख ७० हजार रुपैयाँको चेक दिएको अनिताले बताइन् । ‘बिमा कम्पनीका हाकिमले हरेकपटक कागजात पुगेन भन्दै फर्काइदिए । ११औँपटकमा कम्पनीले आठ लाख ७० हजारको मात्रै चेक दियो । १४ लाखमा पाँच लाख ३० हजार काटेको छ । पूरै पैसा दिनुस् भन्दा बिमाका कर्मचारीले मानेनन्,’ उनले भनिन् । तर, उक्त पैसा बिमा कम्पनीले केका लागि काटेको भन्नेबारे उनी अनभिज्ञ छिन् । बाँकी पैसाको बिमा गरिदिएको बताए पनि कुनै प्रमाण नदिएको उनले बताइन् । अनिताका पाँच र तीन वर्षका दुई छोरा छन् ।

खासगरी दुर्गम क्षेत्रका श्रमिकका परिवारलाई सरकारले दिने सहायता रकमबारे जानकारी नै छैन । सोझोपनको फाइदा उडाउँदै गाउँगाउँमा दलालहरू सक्रिय भएको प्रवासी नेपाली कोअर्डिनेसन कमिटी (पिएनसिसी)का अध्यक्ष कुलप्रसाद कार्कीले बताए । 

दाङका हिमबहादुर थापाको पनि कतारबाटै छुट्टीमा घर आएका वेला गत असोजमा खोलाले बगाएर मृत्यु भयो । हिमबहादुरको मृत्यु भएको थाहा पाएपछि केही महिनापछि उनको घरमा दलालहरू पुगे । ‘बिमा र बोर्डबाट पाउने रकम दिलाइदिन्छौँ भन्दै दलालहरू घरमा आएका थिए,’ श्रीमती जसमतीले भनिन्, ‘तर, दलाल पुग्नुअघि नै मैले सहायता लिने प्रक्रियाबारे बोर्डबाट सबै जानकारी लिइसकेकाले उनीहरूको सहयोग अस्वीकार गरिदिएँ ।’ 

सामी कार्यक्रम दाङकी कार्यक्रम संयोजक बसान्ता पुनले दलालहरू गाडी लिएर घरमै आइपुग्ने बताइन् । उनीहरूले ५० प्रतिशतसम्म खाने गरेको उनको भनाइ छ । ‘सरकारले दिने राहत र बिमाबापत पाउने रकमबारे सोझासीधा मानिसलाई थाहा हुँदैन । त्यसको फाइदा उठाएर दलालले बोर्डबापत पाउने रकमबाट कम्तीमा पाँच लाख रुपैयाँ ठगी गर्छन् । बिमा कम्पनीले पनि भुक्तानी गर्नुपर्ने रकमबाट जबर्जस्ती परिवारका सदस्यलाई बिमा गर्न लगाएर ठग्ने गरेका छन् । कार्यक्रमको सिलसिलामा गाउँमा पुग्दा यसरी ठगिएका धेरै भेटिन्छन्,’ उनले भनिन् । 

प्रवासी नेपाली कोर्डिनेसन कमिटीका अध्यक्ष कुलप्रसाद कार्कीले पनि कामदारको शवमा कमिसन निकाल्न गाउँ–गाउँमा दलाल सक्रिय रहेको बताए । ‘धेरै कामदारका परिवारलाई बोर्ड र बिमाबाट रकम पाइन्छ भन्नेसम्म थाहा छैन । सरकारले जनतालाई यसबारे जानकारी हुने गरी कुनै जनचेतना नै पुर्‍याएको छैन । गाउँका सोझा नागरिकलाई दलालले ठगिरहेका छन् । दलालले पैसा खाइदिएको गुनासा धेरै आउँछन्,’ उनले भने ।

वैदेशिक रोजगार बोर्ड पूर्वकार्यकारी प्रमुख राजेन्द्रकुमार श्रेष्ठले दलालहरू आफन्त भन्दै मृतकका परिवारसँगै आउने भएकाले चिन्न गाह्रो हुने बताए । ‘रकम भुक्तानीको प्रक्रियाका लागि आफन्त हो भन्दै मृतकका परिवारसँगै बोर्डमा आउँछन् । सम्बन्धित परिवारकै सदस्यले आफन्त हो भनेपछि हामीले दलाल कसरी भन्ने ? हामीले त मृतकको परिवारकै बैंक खातामा रकम पठाउँछौँ । उनीहरूले नै निकालेर दिन्छन् । दलालले ठगी गरेको समाचार आएपछि मात्रै हामीलाई थाहा हुन्छ,’ उनले भने ।  

नेपाल बिमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले ठगी भएको निवेदन परेमा दोषीमाथि कारबाही गरिने बताए । ‘खासगरी पश्चिमी जिल्लामा बिमा कम्पनीहरूले मृतकका परिवारलाई पूरै रकम दिन आनाकानी गरेको गुनासा धेरै आउने गरेका छन् । मृतकका परिवारका सदस्यलाई बिमा गर्न दबाब दिँदै केही रकम कटाएर मात्रै भुक्तानी दिने गरेको भन्ने छ,’ उनले भने, ‘यस्ता गुनासा बढेपछि वैदेशिक रोजगार बोर्डले प्राधिकरणसँग छलफलसमेत गरको थियो । हामीले भुक्तानी गर्न निर्देशन पनि दिएका थियौँ । अझै यस्ता घटना भएका छन् भने पीडितले निवेदन दिए कारबाही गर्छौँ ।’

मृतकका परिवार र घाइतेले के–के पाउँछन् सुविधा ?
वैदेशिक रोजगार नियमावली, ०६४ को दफा २८ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका कामदारको श्रम अवधिमा मृत्यु भएमा परिवारले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँ सहयोग पाउने व्यवस्था छ । 

त्यस्तै, मृतकका छोराछोरीले आठ कक्षासम्म अध्ययनका लागि वार्षिक आठ हजार र सोभन्दा उपल्लो तहमा अध्ययनरत भए वार्षिक १२ हजार सहयोग पाउँछन् । त्यस्तै, मृतक कामदारको श्रीमान्/श्रीमती, छोराछोरी, आमा र बुबाले पाँच प्रकारका घातक रोग (किड्नी फेल, मुटुरोग, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स)मा ५० हजार रुपैयाँसम्म उपचार खर्च पाउँछन् । मृतकको शव बोर्डले घरसम्मै ल्याइदिन्छ भने दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँसम्म उपलब्ध पनि गराउँछ । 

वैदेशिक रोजगारीका क्रममा घाइते भएका कामदारले पनि स्वास्थ्य अवस्थाअनुसार न्यूनतम सात हजारदेखि अधिकतम सात लाख रुपैयाँसम्म आर्थिक सहयोग पाउँछन् । मृतक कामदारका परिवारले वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत कम्तीमा १० लाखदेखि बढीमा १४ लाख रुपैयाँसम्म (मृतकको उमेर र श्रम स्वीकृतिको अवधिअनुसार) पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । कम्पनीले बिमितको उमेरअनुसार बिमा रकम भुक्तानी गर्छ । १८ देखि ३५ वर्षका कामदारले तीन हजार सात सय आठ रुपैयाँ, ३६ देखि ५० वर्षका कामदारले चार हजार नौ सय ३१ रुपैयाँ र ५० देखि ६० वर्षका कामदारले नौ हजार चार सय ६३ रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको कल्याणकारी कोषमा १५ हजार जम्मा गर्नुपर्छ । श्रम स्वीकृति अवधि सकिएका कामदारले भने यी कुनै पनि सुविधा पाउँदैनन् ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७९/८० को मंसिर महिनासम्म वैदेशिक रोजगार म्यादी जीवन बिमाबापत कम्पनीहरूले एक अर्ब ४३ करोड ९४ लाख बिमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिसम्ममा कम्पनीहरूमा १२ लाख ४९ हजार सात सय ६२ पोलिसी कायम छ । मंसिरमा मात्रै कम्पनीहरूले ६५ हजार आठ सय १५ पोलिसी जारी गरेको छ । पोलिसी बिक्री गरेबापत कम्पनीहरूले २७ करोड ५७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ४६ अर्ब ३६ करोडको दायित्व बहन गरेका छन् । 

तीन वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका कामदारमध्ये तीन हजार एक सय ९९ कामदारले विदेशमै ज्यान गुमाएका छन् । ०७८/७९ मा मात्रै एक हजार तीन सय ९५ कामदारले ज्यान गुमाए । जसमध्ये पुरुषको संख्या एक हजार तीन सय ५६ छ भने ३९ महिला छन् ।