मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ माघ २४ मंगलबार ०६:११:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा जहाज दुर्घटना : इन्जिनले पावर नदिँदा जहाज खसेको आयोगको प्रारम्भिक अनुमान

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ माघ २४ मंगलबार ०६:११:००

जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । ९एन–एएनसी कलसाइन नम्बरको जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ । इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो । 

१ माघमा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी)मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।

 दुर्घटना जाँच आयोगका अनुसार जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा किन गयो भन्ने अझै खुलेको छैन । प्रोपेलर फेदरमा जानुको रहस्य खोतल्न प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको पर्यटन मन्त्रालयका सहसचिव एवं आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए । 

‘जहाजको इन्जिन चलिरहे पनि प्रोपेलरका बिलेटको एंगल मिलेन भने इन्जिनले काम नगरेबराबर हुन्छ,’ आयोगका सदस्य वरिष्ठ इन्जिनियर एकराजजंग थापाले भने, ‘यस्तो अवस्थामा इन्जिन चलिरहे पनि पावर कम हुँदा जहाजलाई अगाडि तान्न नसक्ने अवस्था हुन्छ ।’ इन्जिनले जहाजलाई अगाडि तान्न प्रोपेलरको एंगल मिलाउनुपर्छ । पोखरा दुर्घटनामा प्रोपेलरको एंगल नमिलेको जस्तो अध्ययनले देखाएको छ ।

जहाजको प्रोपेलरको एंगल नमिल्दा जहाज मोडिन पनि नसक्ने अर्का हवाई इन्जिनियरले बताए । त्यस्तो वेलामा जहाज ‘नेगेटिभ एंगल’मा हुने बताइन्छ । जहाजको प्रोपेलर फेदरमा जानु भनेको इन्जिन बन्द हुनु बराबर भएको ती इन्जिनियरको भनाइ छ । ‘दुवै इन्जिनको प्रोपेलर फेदरमा गएपछि जहाज साबिकको गतिमा उड्न सक्दैन, जहाजलाई न्यूनतम पावरमा उडाउनुको विकल्प हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा जहाज एयरपोर्टसम्म पुग्न सके दुर्घटनाबाट जोगिने सम्भावना रहन्छ, नत्र इन्जिनले पावर दिन नसक्दा जहाज भुइँमा बजारिन पुग्छ ।’ एउटा इन्जिनको प्रोपेलर फेदरमा गए अर्को इन्जिनले काम गर्न सक्थ्यो । तर, जहाजका दुवै इन्जिन फेदरमा जानु भनेको अत्यन्तै डेन्जर हुने उनले बताए । 

उडिरहेको जहाजको प्रोपेलर फेदरमा जानुमा मानवीय वा प्राविधिक जुनसुकै कारण हुन सक्छ । कतिपय अवस्थामा मानवीय र प्राविधिक दुवै त्रुटि पनि हुन सक्ने बताइन्छ । यतीको एटिआर–७२ दुर्घटनामा मानवीय वा प्राविधिक कसको कमजोरी थियो ? यसबारे थप अध्ययन सुरु भइसकेको आयोगका सदस्य सचिव लामिछानेले बताए । 

जहाजको फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरका डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा टिएसआइबी सिंगापुर, बिइए फ्रान्स, टिएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र इएएसएका प्रतिनिधिसमेतको सहभागिता थियो । सबै पदाधिकारी तथा विज्ञहरूबाट सिंगापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको आयोगका सदस्यसचिव लामिछानेले बताए ।

जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले आयोगले हालसम्म प्राप्त सूचना, तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न सम्बन्धित निकायलाई तत्कालै अपनाउनुपर्ने सुरक्षात्मक उपायहरू सिफारिससहितको प्रारम्भिक प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । पोखरामा जहाज दुर्घटना हुनेबित्तिकै पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो ।

ब्ल्याक बक्स के हो ?
ब्ल्याक बक्स जहाजको उडान डाटा र ककपिट भ्वाइस कम्युनिकेसन रेकर्ड गर्न प्रयोग गरिने यन्त्र हो । यसमा विमानका उपकरणको स्थिति, उचाइ, तापमान, गति, इन्धनको मात्रा, अटो पाइलटिङको स्थितिसहित सम्पूर्ण जानकारी रेकर्ड हुन्छ । 

‘ब्ल्याक बक्स’ भनिए पनि यो वास्तवमा उज्यालो सुन्तला रङको हुन्छ । ब्ल्याक बक्समा दुई मुख्य भाग हुन्छन्, फ्लाइट डाटा रेकर्डर (एफडिआर) र ककपिट भ्वाइस रेकर्डर (सिभिआर) । एफडिआरले जहाजको गति, उचाइ, हेडिङ र विभिन्न नियन्त्रण सतहहरूको स्थितिसहित जहाज र यसका प्रणालीबारे विस्तृत रेकर्ड गर्छ । यो जानकारीले जहाजको उडानमार्ग र दुर्घटनाको समयमा पाइलटहरूको अवस्था र काम बुझ्न सहज हुन्छ ।

सिभिआरले ककपिटबाट अडियो रेकर्ड गर्छ, जसमा पाइलट र अन्य चालकदलका सदस्यबीचको कुराकानीका साथै ककपिटमा निस्किएका कुनै पनि आवाजहरू रेकर्ड हुन्छन् । यसले पाइलटको काम र निर्णय, चालकदलबीचको कुराकानी बुझ्न र दुर्घटनाको यथार्थ जानकारी गराउन मद्दत गर्छ । ब्ल्याक बक्सका रेकर्डहरू जहाज दुर्घटना अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।