
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही पत्रकार मिलेर आफूलाई चरित्रहीन देखाउन खोजेको बताएका छन् । आइतबार पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
विभिन्न मिडिया र व्यक्तिको नामै तोकेर आक्रोशित रूपमा प्रस्तुत भएका उनले सबै मिडिया र सम्पादकको ‘मुकुन्डो’ उतारिदिने चेतावनी दिए । ‘सातजना, १२ जना पत्रकार जम्मा भयो, एक ठाउँमा बस्यो, यो लेखौँ भन्यो, लेख्यो । मलाई चरित्रहीनसमेत बनाएर हेडलाइन राखिएको छ । उहाँहरूको चरित्रबारे सम्पादक भाउजूहरूले यसो फोन चेक गरे हुने नि,’ लामिछानेले भने, ‘सम्पादकनी भाउजूहरूलाई फुर्सद भयो भने भेट्न आउनुहोला । जसले मलाई चरित्रहीन देखाउनुभएको छ, तपाईंहरूको आदर्शवान सम्पादकहरूको वास्तविक हैसियत र मुकुन्डो म देखाइदिन्छु ।’