
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
आइतबार नेपाल टेलिकमको १९औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । ‘अधिकांश सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरूमा नाफारहित रूपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवाहरू उपलब्ध गराउने जिम्मवारी नेपाल टेलिकमको रहेको छ,’ उनले भनिन् ।
मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्वीकार गर्दै कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उल्लेख गरिन् । उनले सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।