मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २२ आइतबार ०९:५२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्गको म्याद पुन: नौ महिना थपियो

Read Time : > 2 मिनेट
२०७९ माघ २२ आइतबार ०९:५२:००

ठेक्का सम्झौताको अवधि नसकिँदै दुईपटक थपियो सुरुङमार्गको म्याद, अब अप्रिल ०२४ सम्म निर्माण सम्पन्न गर्नुपर्ने

ठेक्का सम्झौताको अवधि नसकिँदै नागढुंगा सुरुङमार्गको निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुईपटक थप गरिएको छ । ठेक्का सम्झौताअनुसार नागढुंगा सुरुङमार्गको निर्माण अप्रिल ०२३ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर, त्यो अवधि नसकिँदै दुईपटक म्याद थप गरेर अप्रिल ०२४ सम्म पुर्‍याइएको छ ।

सडक विभागका एक उच्च अधिकारीले नागढुंगा सुरुङमार्गको निर्माण सम्पन्न गर्नुपर्ने म्याद नौ महिना थप गरेको बताए । ‘नागढुंगा सुरुङमार्गको निर्माण सम्पन्न गर्नुपर्ने म्याद नौ महिना थप गरिएको छ । यद्यपि, यसमा जाइकाको स्वीकृति आउन बाँकी छ,’ उनले भने, ‘जाइकाले हाम्रा अधिकांश सिफारिस स्वीकृत नै गरेको छ । तसर्थ, जाइकाले अस्वीकृत गर्ने सम्भावना भने ज्यादै न्यून छ ।’

यसमा पछिल्लोपटक भने नौ महिना म्याद थप गरिएको हो । सडक विभागले यसै साता नौ महिना म्याद थप गर्ने निर्णय गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), आयोजना कार्यालय र निर्माण कम्पनीलाई पत्र पठाएको छ । जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋणमा यो आयोजना निर्माण भइरहेको हुनाले म्याद थपसम्बन्धी निर्णयलाई जाइकाले पनि स्वीकृत गर्नुपर्नेछ । आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद यसअघि पनि ८६ दिन (करिब तीन महिना) थपिएको थियो । 

बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएपछि जुलाई ०२३ भित्र उक्त आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, त्यस अवधिमा पनि आयोजनाको निर्माण नसकिने देखिएपछि पुनः नौ महिना म्याद थप गरिएको हो । जसअनुसार अब अप्रिल ०२४ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । त्यसपछि नोभेम्बर ०२० देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण सुरु भएको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

किन थपियो म्याद ? 
कम्पनीले कोरोनाकालमै आयोजनाको निर्माण कार्य सुरु गरेको थियो । फलस्वरूप बीचमा कोरोना रोकथाम गर्न लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजनाको निर्माण कार्य प्रभावित भयो । साथै, सुरुङ खन्ने क्रममा पनि विभिन्न भौगोलिक तथा प्राकृतिक अवरोधहरू आइरहेका छन् । सुरुङभित्र पहिरो जाने तथा स्लाब हुने समस्या पटक–पटक आइरहेको छ । यस्तो कारण आयोजनाको निर्माणले गति लिन सकेको छैन । फलस्वरूप म्याद थप गर्न बाध्य भएको विभागका उक्त अधिकारीको भनाइ छ । ‘विभिन्न कारणले आयोजनाको निर्माण कार्यले गति लिन सकेको छैन । यसअघि तोकिएकै म्यादमा आयोजना निर्माण सम्पन्न नहुने देखिएपछि म्याद थपको निर्णय गरिएको छ,’ उनले भने, ‘अब जाइकाले स्वीकृति दिएपछि यसले औपचारिकता पाउँछ ।’

आयोजनाको प्रगति कति ? 
विभागका अनुसार डिसेम्बर ०२२ सम्म आयोजनाको समग्र भौतिक प्रगति ४७.९० प्रतिशत र वित्तीय प्रगति ४९.५९ प्रतिशत पुगेको छ । आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६ सय ८८ मिटर हुनेछ । त्यसमा हालसम्म एक हजार सात सय ८२ मिटर सुरुङ खनिएको छ । पूर्व (काठमाडौं)बाट आठ सय ५१ मिटर र पश्चिम (नागढुंगा)बाट नौ सय ३१ मिटर सुरुङ खनिएको छ । 

यस्तै, इभ्याकुएसन सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर हुनेछ । त्यसमा हालसम्म दुई हजार ४६ मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट एक हजार ९८ मिटर र पश्चिमबाट नौ सय ४७ मिटर सुरुङ खनिएको छ । आगामी साउनभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य रहेको छ । 

यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले यसको निर्माण गर्दै छ । यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्नेछ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । आयोजनाको उच्च व्यवस्थापनमा २६ जना जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । 

अवैध क्रसर बन्द हुँदा काम प्रभावित 
सरकारले २० पुसदेखि अवैध क्रसर उद्योग बन्द गर्दा बालुवा अभाव भई २ माघदेखि नागढुंगा सुरुङमार्गको निर्माण कार्य रोकिएको छ । आयोजनालाई चाहिने गिट्टी सुरुङ खन्दा निस्कने ढुंगाबाट नै प्रशोधन गरिन्छ । तर, बालुवा भने बाहिरका क्रसर उद्योगबाट नै किन्नुपर्छ । तर, सरकारले अवैध क्रसर बन्द गर्दा बालुवा अभाव भई यसको निर्माण रोकिएको थियो । ११ माघको मन्त्रिपरिषद्को निर्णयबमोजिम क्रसर उद्योग खुल्न थाले पनि आयोजनाको निर्माण सुरु हुन सकेको छैन । काम सुरु गर्ने तयारी भइरहेको आयोजनाका सूचना अधिकारी माधव अधिकारीले बताए । तर, बीचमा जति दिन निर्माण रोकियो, सोहीअनुसार कम्पनीबाट म्याद थपको दाबी पर्न सक्ने विभागका एक अधिकारीले बताए ।