
पदाधिकारी र केन्द्रीय सदस्य फिल्डमा खटिने
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दुईमहिने संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । अभियानका क्रममा केन्द्रीय सदस्य र पदाधिकारीसमेत फिल्डमा खटिने भएका छन् ।
फिल्डको रिपोर्टको आधारमा दुई महिनापछि बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘अब पार्टी फिल्डमा जान्छ, फिल्डको रिपोर्टपछि ठोस निर्णय हुन्छ,’ महराले भने । उनका अनुसार आगामी २६ माघदेखि ५ फागुनभित्र प्रदेश समन्वय समितिको बैठक बस्नेछ । प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारी रहेका छन् । फिल्डको संयोजन यही समितिले गर्नेछ ।
स्थायी कमिटी बैठकको शनिबार समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य र पदाधिकारीलाई फिल्डमा खटिन निर्देशन दिएका छन् । ‘अब संगठनको काममा केन्द्रित हु्नुपर्छ । त्यसका लागि हामी जनतामा जानुपर्छ । दुई महिना फिल्डमा जानुहोस् । फिल्डको रिपोर्टसहित केन्द्रीय समितिमा विस्तृत छलफल गर्नुपर्छ । अन्तर्विरोध भए पनि प्रदेश समन्वय समितिमा छलफल गर्नुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव गणेश साहले नयाँ पत्रिकासँग भने ।
गत निर्वाचनमा ठाउँठाउँमा घात–अन्तर्घात भएको निष्कर्ष निकाल्दै माओवादीले फिल्डको अवस्था बुझ्न केन्द्रीय नेताहरूलाई खटाउने निर्णय गरेको हो । दुईमहिने अभियानको क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ता मात्रै नभई जनतासँग समेत राय लिने नीति माओवादीको छ ।
ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, विभागहरू, जनवर्गीय संगठनहरूलाई पनि बैठक राखेर फिल्डमा जान माओवादीले निर्देशन दिएको छ । स्थायी कमिटी बैठकमा धारणा राखेका २७ नेताले संगठन निर्माणमा जोड दिएका थिए । यसअघि पार्टीका तल्ला कमिटीका बैठकदेखि सल्लाहकार कमिटी र जनवर्गीय संगठनलाई पनि प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा सदस्यहरूले जोड दिएका थिए ।