१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ माघ २२ आइतबार ०७:५६:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माधव नेपालको राजनीतिक प्रतिवेदन : सत्तारूढ दलबाटै व्यवस्थामाथि खतरा

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ माघ २२ आइतबार ०७:५६:००

एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक व्यवस्थामाथि खतरा औँल्याएको छ । राजधानीमा शनिबार सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको र संघीय लोकतान्त्रिक व्यवस्थामाथि खतरा रहेको औँल्याइएको छ । 

‘मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा उत्पन्न भएको छ । अहिलेको प्रतिनिधिसभा त्रिशंकु मात्र होइन, खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्रविरोधी, संघीयतावादी र संघीयताविरोधी, धर्मनिरपेक्षतावादी र धर्मसापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरूबीचको द्वन्द्वले गर्दा मुलुकमा अस्थिरता तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा निम्तिन सक्छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

भूराजनीतिक जटिलता थपिँदै जाने र राष्ट्रियतामाथि दखल पुग्न सक्ने खतरासमेत नेपालले औँल्याएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि मुलुकमा स्थिरता कायम हुने अपेक्षा गरिए पनि राजनीति फरक ढंगले अगाडि बढेको नेपालको विश्लेषण छ ।

मुलुकलाई कता लैजाने प्रचण्डको हातमा
एकीकृत समाजवादीले मुलुकलाई कता लैजाने भन्ने प्रधानमन्त्री प्रचण्डको हातमा रहेको बताएको छ । ‘मुलुकलाई सहमतिको मार्गमा डो¥याउने कि नडो¥याउने भन्ने जिम्मा अब माओवादी र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । 

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ भन्ने प्रतिबद्धताका साथ निर्वाचनमा गएको गठबन्धनबाटै सरकार बन्नुपर्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडानका कारण गठबन्धन भत्किएको एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । वचन दिइसकेका देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि अप्रत्याशित रूपमा एमालेसहित दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएपछि गठबन्धन भत्किन पुगेको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् । नेपालले तत्कालीन गठबन्धन भत्किनुका चार कारण प्रतिवेदनमा समेटेका छन्, ‘निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमन्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपयुक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु र माओवादीको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति ।’ 

वर्तमान सत्तारूढ गठबन्धनलाई एकीकृत समाजवादीले ‘खिचडी’को संज्ञा दिएको छ । ‘वर्तमान सत्तागठबन्धनको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ । आजको अवस्था हिजो दुई–दुईपटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो । तिनै ओली वर्तमान सत्तागठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्टिकोण र उद्देश्यअनुरूप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्फ लाने प्रयत्न गर्दै छन्,’ प्रतिवेदनमा भनिएको छ ।

सरकारप्रति जनतामा नकारात्मक प्रभाव पर्न थालेको, गठबन्धनभित्रै मतभेद र असन्तुष्टि देखापरेको र राजनीतिक वृत्तमा अन्योल सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ । ‘विचारहीन र अराजनीतिक सत्तागठबन्धन बनेको हुँदा मुलुकमा राजनीतिक स्थिरता कायम हुने होइन, बरु अस्थिरताको खतरा बढेको छ । यतिवेला मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको छ । समाजवादी कार्यदिशा अँगालेका शक्तिविरुद्ध प्रहार भइरहेको छ । मुलुकको आर्थिक अवस्था झनै संकटग्रस्त हुँदै गएको छ । राजनीतिक क्षेत्र एकप्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ । 

वाम एकता र मोर्चा निर्माणमा सर्त 
एकीकृत समाजवादीले वाम एकता र मोर्चाका लागि निश्चित सर्त अघि सारेकोे छ । नाम कम्युनिस्ट पार्टी र मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रीयताको सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र समाजवादी कार्यक्रम एवं कार्यदिशा मुख्य आधार भएको एकीकृत समाजवादीले स्पष्ट पारेको छ । 

समाजवाद निर्माण गर्न बलियो कम्युनिस्ट शक्तिको आवश्यकता रहेको एकीकृत समाजवादीले औँल्याएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिस्ट शक्ति निर्माण हुन सक्तैन । हामी गैरकम्युनिस्ट पार्टी बन्न सक्तैनौँ । पार्टी एकता हुनका निम्ति पार्टीको नाम कम्युनिस्ट पार्टी, मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रीयताको सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र समाजवादी कार्यक्रम एवं कार्यदिशा मुख्य आधार हुन् । यी मुख्य आधारमा एकरुपता नभईकन पार्टी एकता हुन सक्तैन ।’ सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दामा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिने एकीकृत समाजवादीले स्पष्ट पारेको छ ।

न्यौपानेको फरक प्रतिवेदन
नेता मुकुन्द न्यौपानेले फरक प्रतिवेदन पेस गरेका छन् । उनले करिब १५ मिनेटमा लिखित प्रतिवेदन पेस गरेका थिए । न्यौपानेले एमालेसँग सहकार्य गरेर जानुपर्ने धारणा राखेका थिए । एमालेको ‘सुकेतुलो’ पार्टीमा सरेको भन्दै सच्चिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । उनले हरेक कमिटीमा ५० प्रतिशत युवा समेट्नुपर्नेमा जोड दिएका छन् । 

न्यौपानेले कांग्रेससँग सहकार्य गरेर जान नहुने बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘कुहिएको फलफूल’सँग तुलना गरेको एक नेताले जानकारी दिए । न्यौपानेले फरक प्रतिवेदन पेस गर्दा बैठकमा केहीबेर होहल्ला भएको थियो । फरक प्रतिवेदन किन भन्दै केन्द्रीय सदस्यहरूले प्रश्न गरेका थिए । 

१० समूह बनाएर छलफल
प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण गरिएको छ । समूहमा छलफल गरेर टोली नेताले आइतबारको बैठकमा निष्कर्ष पेस गर्ने एकीकृत समाजवादीले जनाएको छ । समूहगत छलफल सुरु भएको र आइतबार पनि छलफल भएर निष्कर्ष पेस गरिने केन्द्रीय सदस्य हस्त शाहीले जानकारी दिए ।

कांग्रेस पुँजीपति, एमाले दक्षिणपन्थी अवसरवादी, माओवादी ढुलमुले 
प्रतिवेदनमा राजनीतिक पार्टीहरूको चरित्रसमेत उल्लेख गरिएको छ । कांग्रेस पुँजीपति, एमाले दक्षिणपन्थी अवसरवादी र माओवादीलाई ढुलमुले पार्टीको रूपमा चित्रण गरिएको छ । दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्ने भए पनि कांग्रेस संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको प्रतिवेदनमा औँल्याइएको छ । ‘पुँजीपति वर्ग चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने कांग्रेसले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्छ । तथापि, यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ,’ नेपालले भनेका छन् ।

दोस्रो ठूलो दल एमालेलाई एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएको छ । एमालेको वर्ग अडानसमेत स्पष्ट नभएको र एमालेको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै आएको एकीकृत समाजवादीको विश्लेषण छ । एमालेले संविधान र लोकतन्त्र मास्न पनि सक्ने प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा एमालेको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।’

सत्तारूढ माओवादीलाई ढुलमुले चरित्रको कम्युनिस्ट पार्टीको रूपमा चित्रित गरिएको छ । ‘सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको माओवादी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ, तर सत्तास्वार्थका निम्ति कुनै पनि वेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकीकृत समाजवादीले दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको पुँजीपति वर्ग चरित्रको पार्टीको संज्ञा दिएको छ । संसद् विघटन र नेकपा विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर रास्वपा उदाएको विश्लेषण गरिएको छ । ‘प्रतिनिधिसभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्छ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ,’ प्रतिवेदनमा भनिएको छ । 

राप्रपालाई सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टीको संज्ञा दिएको एकीकृत समाजवादीले जसपालाई प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको, संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध पार्टीको रूपमा हेरेको छ ।