१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडाैं
२०७९ माघ २१ शनिबार ०५:५५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिउँदे वर्षा नहुँदै काठमाडौंमा बढ्न थाल्यो तापक्रम

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७९ माघ २१ शनिबार ०५:५५:००

गत वर्षको तुलनामा तापक्रम अधिकतम ८.८ र न्यूनतम ४.२ डिग्रीसम्मले बढ्यो

काठमाडौं उपत्यकामा हिउँदे वर्षा नहुँदै गर्मी बढ्न थालेको छ । हिउँद घर्किन लाग्दा पनि उपत्यकामा वर्षा हुन सकेको छैन । नेपालमा १५ मंसिरदेखि १५ फागुनसम्मको अवधिलाई हिउँद मानिन्छ । जल तथा मौसम विज्ञान विभागले यो हिउँदमा कम वर्षा हुने र तापक्रम पनि औसतभन्दा बढी हुने आकलन गरेको थियो ।

दिनहुँ चर्काे घाम लाग्न थालेपछि काठमाडौंको अधिकतम र न्यूनतम दुवै तापक्रम बढेको छ । गत वर्षको यही अवधिसँग तुलना गर्दा काठमाडौंको अधिकतम तापक्रम सरदर ६ डिग्रीसम्म उकालो लागेको छ । 

उपत्यकामा ७ माघयता तापक्रम बढ्न थालेको हो भने न्यूनतम तापक्रम हिउँदभर नै सरदरभन्दा बढी नै थियो । अर्थात् यस वर्ष हिउँदमा तापक्रम तल झरेन, जसकारण खासै जाडो पनि महसुस भएन । माघमा काठमाडौंको दैनिक औसत तापक्रम गत वर्षभन्दा ८.८ डिग्री र न्यूनतम ४.२ डिग्रीसम्मले (१३ माघ) बढेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तापक्रम मापन केन्द्रमा गत वर्ष २० माघमा अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम चार डिग्री थियो । तर, यस वर्ष १७ माघमा अधिकतम तापक्रम २१.५ डिग्री र न्यूनतम ५.८ डिग्री मापन भएको छ । गत वर्ष र यस वर्ष २० माघको तापक्रमको अन्तर अधिकतमतर्फ ५ डिग्री र न्यूनतमतर्फ १.८ डिग्री देखिएको छ ।

‘अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै जानुको अर्थ गर्मी बढिरहेको भन्ने देखाउँछ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘वर्षा नहुँदा तापक्रम बढिरहेको हो ।’ उपत्यकामा २० माघको औसत तापक्रम (३० वर्र्षको औसत) अधिकतम १८.७ र न्यूनतम २.५ डिग्री हो । उपत्यकामा यस वर्षको हिउँदमा सबैभन्दा बढी तापक्रम १७ माघमा मापन भएको छ ।

अधिकतम तापक्रम २४ डिग्री र न्यूनतम तापक्रम ८ डिग्री मापन भएको थियो । गत वर्ष १७ माघमा अधिकतम तापक्रम १७.३ र न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो । यस वर्ष १८ माघमा अधिकतम २२.५ र न्यूनतम ६.३ डिग्री रहँदा १९ माघमा केही घटेर अधिकतम २२.२ र न्यूनतम ६.५ मापन भएको थियो ।

काठमाडौंमा १५ माघभन्दा १६ माघमा तापक्रम केही घटेको थियो । दिनभरजसो बदली हुँदा १६ माघमा अधिकतम तापक्रम २० डिग्री रहँदा न्यूनतम तापक्रम भने अघिल्लो दिनको तुलनामा बढेर ८.३ डिग्री पुगेको थियो । १५ माघमा काठमाडौंको तापक्रम अधिकतम २०.८ र न्यूनतम ५.३ डिग्री थियो । 

त्यसअघि १३ माघमा अधिकतम २२.८ र न्यूनतम ५.५ डिग्री मापन भयो भने गत वर्ष यही अवधिमा यहाँको तापक्रम अधिकतम १४ र न्यूनतम ४.२ डिग्री थियो । अधिकतम तापक्रम गत वर्षको सोही अवधिको तुलानामा ८.८ डिग्री र न्यूनतम १.३ ले बढी हो । 

९ माघमा पनि अधिकतम तापक्रम धेरै थियो । औसत अधिकतम तापक्रम १८.५ रहेकामा २२ डिग्री मापन भयो । गत वर्ष यस अवधिमा अधिकतम तापक्रम १३.२ मात्र थियो । गत वर्ष यो अवधिमा उपत्यकामा वर्षा भइरहेको थियो भने अचेल चर्काे घाम लाग्ने गरेको छ । वर्षा हुने कुनै छाँटकाँट छैन । गत साता पश्चिम नेपालमा वर्षा भए पनि काठमाडौंसहित मध्य नेपाल र पूर्वमा वर्षा भएको छैन । जनवरीमा उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम औसतमा क्रमशः १९.२ र २.८ डिग्री हो भने फेब्रुअरीमा औसत अधिकतम २२.१ र न्यूनतम ५.३ डिग्री हो ।

देशभरको तापक्रममा उतारचढाव
देशभरको तापक्रममा उतारचढाव आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा कम भएकाले तापक्रम चाँडै बढेको हो । अघिल्लो साता पश्चिम नेपालमा वर्षा भए पनि क्रमशः मुलुकभर गर्मी बढ्न थालेको छ । तर, बदली भएको दिन तापक्रम केही घटे पनि तुलनात्मक रूपमा वृद्धि नै भइरहेको छ ।

जनकपुरमा माघमै अधिकतम तापक्रम २८ डिग्री नाघेको छ । त्यहाँ १६ माघमा अधिकतम तापक्रम २८.६ डिग्री र न्यूनतम १३.४ डिग्री पुगेको थियो । तर, पछिल्ला दिनमा केही सुधार भएको छ । १७ माघमा २७ डिग्रीमा झरेकोमा १९ माघमा २४.६ र २० माघमा २५ डिग्री मापन भएको छ ।

धरानमा १६ माघमा अधिकतम २८.५ मापन हुँदा २० माघमा २७.४ डिग्री मापन भएको छ । अधिकतम तापक्रम विराटनगरको २५.४, दिपायलको २४.८, वीरेन्द्रनगरको २४.३, पोखराको २४.२ र सिमराको २३.८ डिग्री मापन भएको छ । धनगढी र घोराहीको २३.३ तथा भैरहवा र धनकुटाको तापक्रम २३.१ पुगेको छ । विभागका मौसमविद् हुमागाईंका अनुसार प्रशान्त महासागरमा देखिएको लानिनाका कारण त्यहाँको तापक्रम घट्दा जलवास्पयुक्त हावा नेपालमा खासै प्रवेश गर्न सकेको छैन । 

मौसमविद् सञ्जीव अधिकारी भन्छन्– तत्काल वर्षाकोे सम्भावना छैन
मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल वर्षा हुने सम्भावना छैन । गत साता भने पश्चिम नेपालमा वर्षा भएको थियो । तर, मध्य र पूर्वी नेपालमा अझै हिउँदे वर्षा हुन सकेको छैन । हिउँदमा नेपालमा औसत ६०.१ मिलिमिटर वर्षा हुन्छ । अन्यत्रको वर्षा पनि न्यून छ । पछिल्लो २४ घन्टामा मुलुकका कुनै पनि स्थानमा वर्षा मापन भएको छैन । 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको बताए । ‘हाल उल्लेखनीय प्रणाली छैन । अबको दुई–चार दिन वर्षाको सम्भावना छैन,’ उनले भने, ‘शनिबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भने हुन सक्छ ।’

हिउँदको एक महिना बाँकी नै रहेकाले आगामी दिनको मौसमबारे महाशाखाले आकलन गरिसकेको छैन । तर, सामान्यतया अरू वर्षमा हालसम्म वर्षा भइसक्ने गरेकामा यस वर्ष पश्चिम नेपालबाहेक क्षेत्रमा वर्षा हुन सकेको छैन । तर, अब वर्षा भए पनि तापक्रम पनि खासै घट्दैन । ‘अब पानी परेकै समयबाहेक अरू समयमा तापक्रम बढ्दै जान्छ । देशभर गर्मी बढिरहेको छ,’ अधिकारीले भने ।